2026 April 28/ 03:40: 45pm

    धुलिखेल/शिक्षा विकास निर्देशनालय बागमती प्रदेश हेटौडाको आयोजनामा सोमबार माघ १४ गते प्रदेश राजधानी हेटौडामा आयोजित माध्यमिक विद्यालय स्तरीय शैक्षिक प्रर्दशनी कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्वर २ रविगाउँमा रहेको सेतिदेवी मावि प्रथम भएको छ । 
    स्थानीय तह, जिल्ला हुँदै प्रदेश तहमा प्रतिस्पर्धामा पुगेका माध्यमिक विद्यालयहरु मध्ये १२ वटा जिल्लाका विद्यालयहरुलाई पछि पार्दै सेतिदेवी मावि पहिलो भएको हो । विद्यालयले नगद ३० हजार सहित पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा दोश्रो सैनि महाविद्यालय चितवन भएको छ । तेश्रो कृष्णरत्न गंगा मावि सिन्धुपाल्चोक भएको छ । सान्त्वना पासाङचोक महाविद्यालय मावि धादिङ भएका छन् । विजयी विद्यालय तथा विद्यार्थीहरुलाई बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले पुरस्कार वितरण गरेकी थिईन् । सेतिदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार सारु मगरको नेतृत्वमा विद्यालय परिवार शैक्षिक प्रर्दशनीका लागि हेटौडा पुगेको थियो । जिल्ला र नगरमा प्रथम भएको उक्त विद्यालयले बार्षिकोत्सवको अवसर पारी विद्यालयमा पनि शैक्षिक प्रर्दशनी गरेको थियो । 
    शैक्षिक प्रर्दशनीमा भाषा, गणित, विज्ञान र अन्य विषय समेटिएको थियो । विद्यालयहरुले प्रर्दशन गर्ने सामाग्रीहरुलाई प्रदेश स्तरीय मुल्यांकन मापदण्डका आधारमा विषय विज्ञहरुले अनुमगन गरी मुल्यांकन नम्वरका आधारमा पुरस्कृत गरिएको थियो । जिल्लामा प्रथम हुँदा सेतिदेवी मावि धुलिखेल २ ले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रर्दशनीमा राखिएका सामाग्रीहरुलाई मुल्यांकनकर्ताहरुले पाँचवटा विधालाई प्राथमिकतामा राखेर नम्वर दिने मापदण्ड प्रदेशले तय गरेको थियो । जसमा प्रर्दशनी हुने सामाग्रीहरुको पाठ्यक्रमसँग सम्वन्धी, प्रर्दशन हुने सामाग्रीहरुको कच्चा पदार्थ, मौलिकता र नविनता, सैद्धान्तिक वा ब्यवहारीक अवधारणा, सामाग्रीको उपयोगिता, वातावरणमैत्री, प्रस्तुतीकरण र विषयबस्तुको ज्ञान लगायतका विषयमा छनौट गरिएको थियो ।