धुलिखेल/धुलिखेल क्याम्पसको प्रथम क्याम्पस सभाले डा. दीर्घराज बरुण श्रेष्ठको अध्यक्षतामा संचालक समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष बेदप्रसाद कोँजु रहेका छन् ।
सदस्यहरुमा अनमोल श्रेष्ठ, दिपेन्द्र देवजु, संगिता श्रेष्ठ चयन भएका छन् । सदस्य सचिव क्याम्पस प्रमुख सागर तिवारी रहेका छन् । समितिमा नगरपालिका, उद्योग बाणिज्य संघ, त्रिवी, प्राध्यापकका तर्फबाट प्रतिनिधि रहनेछन् भने समितिबाट ३ जना मनोनित हुने ब्यवस्था छ । नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा बोल्दै ब्याञ्जुले क्याम्पस स्थापनाको अवस्थाका घटनाक्रम, क्याम्पसको दीगोपनाका लागि खेलेको भूमिका, नगरपालिकाले शिक्षाको गुणस्तरका लागि गरेको पहल र नागरिकहरुका लागि निशुल्क शिक्षामा नगरपालिकाले अभिभावकत्व ग्रहण गरेका विषयमा स्पष्ट पारेका थिए । क्याम्पसमा ब्यवहारीक र प्राविधिक ज्ञान उपलब्ध गराउने गरी नयाँ समितिले योजना निर्माण गर्नु पर्नेमा जोड दिदै नगर प्रमुख ब्याञ्जुले स्वस्थ शहर धुलिखेलको उपाधी जस्तै गुणस्तरीय शिक्षाका लागि पनि नगरपालिकाले गरिरहेको अभियानमा शैक्षिक संस्थाहरु सक्रिय रहनु पर्ने बताए ।
अध्यक्ष जवाहरलाल यगोल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख सागर तिवारीले क्याम्पसको आर्थिक वर्ष २०८०÷०८१ को लेखापरिक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०८१÷०८२ को बजेट र कार्यक्रम प्रस्तुत गरेका थिए । साथै क्याम्पस सभामा प्रस्तुत गरिएको विधान सर्वसम्मतबाट पास गरिएको थियो । सभामा बरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोँजुले किताबी ज्ञानसँगै ब्यबहारीक ज्ञानका लागि शिक्षकहरुले ध्यान दिनुपर्ने बताए । सोहि सभामा नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा अध्यक्ष गणेश आचार्य, डा.दीर्घराज बरुण, अनमोल माकजु लगायतले मन्तब्य राखेका थिए । प्रकाश रोक्काको संचालनमा सम्पन्न कार्यक्रममा सहायक क्याम्पस प्रमुख नवराज बडालको स्वागत मन्तब्य रहेको थियो ।





