2026 April 28/ 03:41: 47pm

– शिर्षक परिवर्तन गरी सफटवेयर निर्माणमा बजेट 
    बनेपा/कानूनी रुपमा नमिल्ने तर ब्यवहार मिलाउन बनेपा नगरपालिकाले २०७९ साल देखि नै योजना छनौट तथा बजेट विनियोजनमा नगर प्रमुख र उपप्रमुखले भागवण्डा गर्दै आएका छन् । चालु आर्थिक वर्षका लागि विनियोजन भएको भागवण्डाको रकम हिउँदे सभाबाट पास गरिएको छ । 
    बनेपा नगरपालिकाको विनियोजन ऐन, २०८१ मा समावेश भएको मागमा आधारित योजना शीर्षकमा विनियोजित रकमबाट ६० वटा योजनामा रकम विनियोजन गरिएको छ । सोहि शिर्षकमा आधारित रहेर चालु वर्षमा पनि नगर प्रमुख शान्तिरत्न शाक्य र उपप्रमुख विमला सापकोटा दाहालको भागमा जनही १ करोड ३५ लाख गरी २ करोड ७० लाख रुपैयाको बास्केट फन्ड बजेट अधिबेशनमा राखिएको थियो । हिउँदे अधिबेशनले उक्त रकमबाट ६० वटा नयाँ योजना पास गरेको छ । नगर प्रमुख र उपप्रमुख बीच भागवण्डा गरी योजना र रकम विनियोजन गरिएको हो । वर्षे अधिबेशनमा रकम डालोमा राख्ने र हिउँदे अधिबेशनमा योजना संकलन गरी रकम विनियोजन गर्ने प्रमुख, उपप्रमुखको सहमति हो । 
    विनियोजन गरिएका ६० योजना मध्ये वडा नम्वर १ मा २ वटा, वडा नम्वर २ मा ४ वटा, वडा नम्वर ३ मा ७ वटा, वडा नम्वर ४ मा ६ वटा, वडा नम्वर ५ मा ५ वटा, वडा नम्वर ६ मा ३ वटा, वडा नम्वर ७ मा ५ वटा योजनामा रकम विनियोजन भएको छ । वडा नम्वर ८ मा ३ वटा र वडा नम्वर ९ मा २ वटा योजनामा रकम विनियोजन गरिएको छ । वडा नम्वर १० मा ४ वटा, वडा नम्वर ११ मा २ वटा, वडा नम्वर १२ मा १ वटा, वडा नम्वर १३ मा ३ वटा योजनामा रकम विनियोजन गरिएको छ । वडा नम्वर १४ मा १ वटा योजनामा रकम विनियोजन गरिएको छ । 
    एउटै ब्यक्ति दुईवटा क्याम्पसमा प्रमुख रहने गरी दर्ता गरिएको बनेपा कलेज अफ मेनेजमेन्ट एण्ड टेक्नोलोजीका लागि १५ लाख रकम विनियोजन गरिएको छ । बनेपाको चैतन्य क्याम्पसलाई पूर्वाधार निर्माणमा ८ लाख रकम विनियोजन गरिएको छ । फुटबल प्रशिक्षणका लागि प्रशिक्षकहरुका लागि १ लाख २० हजार रकम विनियोजन गरिएको छ । अन्तर विद्यालय र अन्तर वडा टेबुलटेनिस प्रतियोगिताका लागि ५ लाख रकम विनियोजन गरिएको छ ।  ड्रिम्स एनिमेशन एकेडेमी एण्ड स्टुडियो कन्फरेन्स एक्जिविसनका लागि ५९ हजार ९ सय ९९ रुपैया रकम विनियोजन गरिएको छ । काभ्रे क्याम्पस टेबलटेनिस प्रशिक्षणका लागि रोबोट खरिदका लागि ९९ हजार ४ सय, दोश्रो मेयर कप तेक्वान्दो आईटिएफ संचालनका लागि १ लाख ३६ हजार, बागमती प्रदेश फुटबल लिग प्रतियोगिताका लागि १ लाख, चण्डेश्वरी मावीलाई आईएसओ प्राप्तिका लागि ५ लाख, साईबर सचेतना कार्यक्रम सामुदायिक विद्यालयहरुका लागि ३० हजार रकम विनियोजन गरिएको छ ।  विनियोजित ३५ वटा योजनाको शिर्षक र रकम संशोधन गर्ने निर्णय गरेको छ । 
    जसमा वडागत योजना ३२ वटा संशोधन भएका छन् भने नगरपाकिाले पालिकागत ३ वटा योजनाको शिषर्क र रकम परिवर्तन गरेको छ । बनेपा नगरपालिकाको विनियोजन ऐन, २०८१ मा चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि स्वीकृत भएका योजनाहरु मध्ये ३५ वटा योजनामा विनियोजन भएको रकम र शिर्षक संशोधन गर्ने निर्णय गरेको छ । नगरपालिकाले पालिकागत बजेटमा शिर्षक र रकम परिवर्तन गरी सफ्टवेयर निर्माणलाई प्राथमिकतामा राखेको छ । सेवा परामर्श शिर्षकको ३ लाख रुपैया बजेट गैरसरकारी संस्थासँग सम्वन्धित सफ्टवेयर निर्माणमा संशोधन गरिएको छ भने फोहोरमैला ब्यवस्थापनका लागि विनियोजन गरिएको १० लाख रुपैयाबाट फोहोरमैला ब्यवस्थाप सम्वन्धि सफ्टवेयर निर्माण ३ लाख विनियोजन गरिएको छ । त्यस्तै  सहकारी तालिम तथा नव प्रवर्तन कार्यक्रममा विनियोजन ३ लाख रकम टोल विकास संस्था सम्वन्धित सफ्टवेयर निर्माणका लागि विनियोजन गरिएको छ । 
    हिउँदे सभाले कर दस्तुर समावेश गरी कार्यान्वयन गर्न नगरकार्यपालिकाको निर्णय अनुसार कर दस्तुर कार्यान्वयन गर्ने निर्णय गरेको छ । ११ वटा शिर्षकमा कर दस्तुर निर्धारण गरिएको छ । स्टिल उद्योग, फर्निचर उद्योग, कृषि सामाग्री÷एग्रोभेट पसल, कृषि सामाग्री उत्पादन तथा अनुसन्धान, कार्गाे सेवा, किचेन सामाग्री पसल, तार जाली उद्योग, टायर पसल, पाउँ उद्योग, इन्भेस्ट म्यानेजमेन्ट, बोधिचित्त दाना उत्पादनका लागि बनेपा नगरपालिकामा दर्ता भई कर तिर्नु पर्ने ब्यवस्था गरेको छ । बनेपा नगरपालिका वडा नम्बर ४ को बुलेमा खेलमैदान निर्माणका लागि सोहि स्थानमा रहेको साविक उग्रचण्डी गाविस वडा नम्बर ४ कित्ता नम्वर २१६ को ४७ रोपनी ९ आना १ पैसा जमिन फिल्डबुकमा जंगल भनि जनिएकोले जग्गा प्राप्तिका लागि आवश्यक प्रकृया अगाडी बढाउन स्विकृत दिने निर्णय गरेको छ ।