2026 April 28/ 03:40: 39pm

       शंखु/धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुपाटीचौरमा ६८ वर्ष भन्दा माथीका जेष्ठ नागरिक दलित जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका समेत गरी २ सय २० जना ब्यक्तिहरुलाई फाईबर सिरक वितरण तथा स्वास्थ्य परिक्षण गरिएको छ । 
        धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले एक कार्यक्रमका बिच उक्त फाईबर सिरक वितरण गरेका थिए । नगर प्रमुख ब्यान्जुले जेष्ठ नागरिकहरुलाई सबैले सम्मान गर्नुपर्ने बताए । जेष्ठ नागरिकहरुको सम्मान गर्नु मात्रै नभई उनिहरु नगरका धरोहर भएको ब्याञ्जुले बताए । ब्याञ्जुले जेष्ठ नागरिक भनेका जीवित देवता भएकाले उनीहरुको सम्मान गर्नुपर्ने बताए । नगरपालिकाले सबै वडाका जेष्ठ नागरीकहरुलाई वडा  वडामा सम्मान गर्दै स्वास्थ्य परिक्षण समेत गरिएको बताए । 
          कार्यक्रमका सभापति तथा वडा नम्बर १२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेले पूर्वाधार मात्रै विकास नभई जेष्ठ नागरिक, महिला तथा बालबाकिा, युवाको क्षेत्रमा काम गर्नु समेत विकास भएको बताए । वडाले वडामा पुर्बाधार सगै विभिन्न किसिमका तालिम, स्वास्थ्य शिविर, कृषि, खेलकूद शिक्षातर्फ समेत काम गर्दै आएको र निर्वाचनमा बाचा गरिएका धेरै प्रतिबद्धताहरु पूरा गरिएको बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी, कार्यपालिका सदस्य कमला काफ्ले, स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी, पूर्व वडा अध्यक्ष हर्कबहादुर तामाङ, वडा सचिव राजबहादुर धरला, समाजसेवी आमोद उपाध्याय लगायतको सहभागिता रहको थियो ।