बनेपा/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेको ३१ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी सहित जिल्ला कमिटी सदस्यको पद तथा गोपनीयताको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
सपथ ग्रहण समारोहमा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला अधिवेशन बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष प्रकाश रोक्का, अनेरास्ववियु बागमती प्रदेश कमिटी अध्यक्ष लालबहादुर बुढाथोकी, नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य कुमार तिमल्सिना, अनेरास्ववियु केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक इन्चार्ज सुमन जैरु, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं विद्यार्थी इन्चार्ज मिलन कुमार गौतम लगायतको उपस्थिति रहेको थियो ।
पौष ५ गते बनेपामा सम्पन्न ३१ औं जिल्ला अधिवेशनको बन्द सत्रले सर्वसम्मत नेतृत्व चयन गरेको थियो । अनेरास्ववियु काभ्रेको अध्यक्षमा दिपेश तिमल्सिना निर्वाचित भएका छन् । उपाध्यक्षमा सौगात अधिकारी, सुजन सापकोटा र आयुष बडाल, सचिवमा प्रविन पौडेल, सह–सचिवमा उत्कर्ष दाहाल, तिर्सन तामाङ र आभास चौलागाईं, कोषाध्यक्षमा प्रजिता ढुंगाना र कार्यालय सचिवमा सन्जिव हुमागाईं निर्वाचित भएका थिए । निर्वाचित पदाधिकारी र सदस्यहरुलाई अनेरास्ववियुका अध्यक्ष वडालले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
यसैबिच अनेरास्ववियु का केन्द्रिय अध्यक्ष समिक बडालले आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । अनेरास्ववियु काभ्रेपलाञ्चोकको सपथ ग्रहण समारोह एवं प्रथम पुर्ण बैठकलाई सम्बोधन गर्दै बडालले स्ववियु निर्वाचनको तयारीमा केन्द्रित हुन विद्यार्थी नेताहरुलाई निर्देशन दिएका हुन् । फागुन १५ गतेका लागि तोकिएको निर्वाचन मिति अनुसार कार्यतालिका प्रकाशन गर्ने चरणमा त्रिभुवन विश्वविद्यालय रहेको बताए । स्ववियु निर्वाचन विद्यार्थीको हक अधिकारलाई सदैव उजागर गर्दै विद्यार्थी आन्दोलनमा उर्जा भर्ने अभियानको रुपमा रहेको उनको भनाई थियो । स्ववियु निर्वाचन लामो समय नहुँदा विद्यार्थी आन्दोलन शिथिल भएको भन्दै उनले त्यसको प्रभाव आजको नेपाली राजनीतिमा परेको बताए ।
स्ववियु निर्वाचनका कारण महाधिवेशनको मिति सरेको पनि उनले जानकारी दिए । चैत मसान्तभित्र २४ औं महाधिवेशन गर्ने निर्णय भएको उनले बताए । अघिल्लो कार्यकालमा जिल्लामा भएका कार्यको प्रशंसा गर्दै अध्यक्ष बडालले देशभर सकारात्मक सन्देश दिने गरी काम गर्न आग्रह गरेका छन् । मिलन कुमार गौतमको नेतृत्वमा अनेरास्ववियु काभ्रेले देशैभरी अर्थ राख्ने काम भएको उनले बताए । सुचना प्रविधिको दुनियामा संस्कारहरु हराउँदै गएको आभाष भएको भन्दै उनले राम्रा संस्कार र सँस्कृतिको संरक्षणमा अनेरास्ववियु लाग्नुपर्नेमा जोड दिएका छन् ।
बागमती प्रदेश कमिटी अध्यक्ष लाल बहादुर बुढाथोकीले अनेरास्ववियु राजनीतिको नर्सरीको रुपमा रहेका बताए । उनले नर्सरीको संरक्षणमा सबै लाग्न जरुरी रहेको भन्दै विद्यार्थीको हक अधिकार रक्षाको लागि जिल्ला कमिटीले उत्कृष्ट कार्य गर्ने विश्वास लिएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष एवं एमाले काभ्रेका जनसंगठन प्रमुख प्रकाश रोक्काले अधिवेशनमा भएका नराम्रा विषयलाई सिकाइका रुपमा ग्रहण गर्दै आगामी दिनमा गल्ती नगर्ने गरी काममा लाग्न निर्देशन दिएका छन् । एमाले वागमती प्रदेश कमिटी सचिवालय सदस्य कुमार तिमल्सिनाले विद्यार्थी राजनीतिले समाज बारे वुझ्न सिकाएको अनुभव सुनाएका थिए । उनले एकतामा बल हुने भन्दै विद्यार्थीको अधिकार रक्षाका लागि संगठित हुन आवश्यक रहेकोमा जोड दिए ।





