– विभिन्न ब्यक्तित्वहरुलाई सम्मान
झापा/नेपाल हृदय रोग निवारण प्रतिष्ठानको झापाको बिर्तामोडमा दुई दिनसम्म सञ्चालन भएको ३३ औं केन्द्रीय सभामा विभिन्न व्यक्तित्वहरू सम्मानित भएका छन् । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद कोजुलाई “मृगेन्द्र सम्झना चिकित्सा गुठी ओरेशन सम्मान”बाट सम्मान गरिएको छ । त्यसैगरी, “मृगेन्द्र सम्झना चिकित्सा गुठी युवा पुरस्कार” नगद रु. २५ हजार राशी सहित धनुषा अस्पतालका डा. राजेश शाहलाई प्रदान गरिएको छ ।
“स्व. दामोदर राज शर्मा स्मृति मुटुरोगी सेवा पुरस्कार”बाट प्रतिष्ठानको मकवानपुर शाखाका निवर्तमान सभापति हरिवंश भेटवाललाई रु. २५ हजार नगद र सम्मान प्रदान गरिएको थियो । “एण्ड. आर.एच.डी. अवार्ड”बाट नगद रु. २५ हजार सहित डा. उर्मिला शाक्यलाई सम्मान गरियो भने “शाखा प्रोत्साहन पुरस्कार”बाट धादिङ शाखालाई रु. ५० हजार नगद सहित सम्मानित गरियो । “सर्वोत्तम शाखा सम्मान” प्रतिष्ठानको चितवन शाखाले प्राप्त गर्यो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. सत्यनारायण सुवालको अध्यक्षतामा भएको थियो भने बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईं प्रमुख अतिथि रहेकी थिइन् ।
कार्यक्रममा विशेष अतिथि कन्काई नगरपालिकाका उपमेयर आशा शर्मा सिवाकोटी, झापा शाखाका कार्डियोलोजिष्ट तथा सल्लाहकार डा. उमेश यादव, प्रतिष्ठानका पूर्व अध्यक्ष डा. अवनिभूषण उपाध्याय, केन्द्रीय सभाका संयोजक एवं निवर्तमान अध्यक्ष बलराम न्यौपाने, उपाध्यक्ष डा. पुष्पराज राजकर्णिकार र सम्मानित व्यक्तित्व धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू लगायतले मुटुरोग सचेतना, जीवनशैली परिवर्तन, योग, व्यायाम, ध्यान तथा उचित खानपानको महत्त्व बारे मन्तव्य राखेका थिए । डा. प्रकाश राज रेग्मीले बाथ मुटुरोग अनुसन्धान र कार्यक्रम सञ्चालनका लागि रु. २ करोडको अक्षय कोष स्थापनाको लक्ष्य रहेको बताउँदै मुटुरोग निवारणका भावी दिशाबारे प्रकाश पारका थिए ।
प्रतिष्ठानका महासचिव कोमलप्रकाश घिमिरेले स्वागत मन्तब्य राखेका थिए भने झापा शाखाका सभापति सन्तोष अग्रवालले धन्यवाद ज्ञापन ज्ञापन राखेका थिए । अग्रसेन भवनमा सम्पन्न कार्यक्रममा प्राविधिक तालिम, शाखा सुदृढीकरण तालिम, शाखाहरूको प्रतिवेदन प्रस्तुति, प्रभातफेरी कार्यक्रम सञ्चालन गरिनुका साथै महासचिव र कोषाध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनहरू सर्वसम्मतिले पारित गरेको थियो । नेपाल हृदय रोग निवारण प्रतिष्ठान काभ्रेपलाञ्चोक शाखाबाट टीकाभक्त भोछिभोया, अशोक कुमार श्रेष्ठ, सत्य नारायण श्रेष्ठ, महेन्द्र जोशी, बिठ्ठल सिकू श्रेष्ठ, लिजा सिकू श्रेष्ठ, र पल्लवी प्रधान लगायतका प्रतिनिधिहरूले ३३औं केन्द्रीय सभामा सहभागिता जनाएका थिए ।





