2026 April 28/ 02:22: 44pm

    बनेपा/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन काभ्रेपलाञ्चोकको ३१ औं जिल्ला अधिवेशन बनेपामा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटाले गरेका थिए । 
    अधिबेशनको बन्द सत्रले दिपेश तिमल्सिनाको अध्यक्षतामा नयाँ कमिटी गरेको छ । असन्तुष्ट समुहले अर्काे समुह खडा गरी बखेडा निकालेको छ । अधिबेशन स्थलमा उक्त समुहले अराजक गतिविधि प्रस्तुत गरेको थियो । संगठनका तर्फबाट प्रस्तुत गर्न खोजिएका सांगठनिक तथा आर्थिक प्रतिवेदनहरु समेत प्रस्तुत गर्न अवरोध सिर्जना गरिएको थियो । सोहि समुहले अध्यक्ष मण्डलको समेत अवज्ञा गर्दै अधिबेशन सकिए लगत्तै समुह तयार गरी नाम सार्वजनिक गरेको थियो । उक्त समुहलाई केन्द्र र प्रदेशले अनुमोदन गरेन । आधिकारीक कमिटी दिपेश तिमल्सिनालाई मान्यता दिएको छ । 
    अधिबेशनको उद्घाटन सत्रमा नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, अनेरास्वविुका केन्द्रिय सचिव सुजन कडरिया लगायत विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री बास्कोटाले अनेरास्ववियु सिकाईको विश्वविद्यालयको रुपमा रहेको बताए । अनेरास्ववियुले विद्यार्थीको हक, अधिकारको रक्षा गर्नुका साथै अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउँदै आएको बताए । उनले अनेरास्ववियुले चेतना, ज्ञान र निर्माणको झण्डा बोकेको बताए । विद्यार्थीले समाज, परिवार, शिक्षा र भविष्यको बारेमा सकारात्मक सोच राख्न जरुरी रहेको बताएका छन् । यस्तै अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलन गौतमले अनेरास्ववियुले व्यवहारिक शिक्षा, सिर्जनात्मकता र नविनताको आन्दोलनको नेतृत्व गरिरहेको बताए । नेपालमै पहिलोपटक आइडिया बैंक सञ्चालन, हरेक अधिकवेशनमा रचनात्मक कार्य अनिवार्य, एसईई सम्मान, लगायतका नविनतम् कार्यको थालनी अनेरास्ववियुले गरेको उनले बताए । 
    यसैबिच अधिवेशनको अवसर पारेर अनेरास्ववियु काभ्रेले जिल्लास्तरीय नृत्य प्रतियोगिता समेत आयोजना गरेको छ । नृत्य प्रतियोगितामा बेलर इन्टरनेश्नल एकेडेमी बनेपा प्रथम, क्षितिज अंग्रेजी स्कुल दोस्रो र एबिएम स्कुलले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका थिए । विजयी टिमलाई नगद सहित पुरस्कृत गरिएको थियो ।