2026 April 28/ 02:23: 09pm

अध्यक्षमा पुनः प्रेमबहादुर तामाङ
    धुलिखेल/काभ्रे वन पैदावर उद्योग ब्यवसायी संघको नऔ बार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिबेशन बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
     जिल्ला अध्यक्ष प्रेमबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष दिनेशराज रेग्मी, महासचिव माधवमणी हुमागाई, डिभिजन वन कार्यालय काभ्रेका प्रमुख कृष्णबहादुर थापा, उपत्यका अध्यक्ष तिर्थ महर्जन, बागमती प्रदेश अध्यक्ष रविन्द्र बैदार, ललितपुर अध्यक्ष राजबहादुर सिंह, सामुदायिक वन उपभोक्ता महासंघ काभ्रेका अध्यक्ष बलराम घिमिरे, पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापा, पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले वन क्षेत्रका समस्या, उद्योगी ब्यवसायीले खेल्नु पर्ने भूमिका तथा समस्याका बारेमा धारणा राखेका थिए । सभामा जेष्ठ उद्यमी सदस्य जानुलक्ष्मी बैदारलाई सम्मान गरिएको थियो । 
    अधिबेशनको बन्द सत्रले प्रेमबहादुर तामाङको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्ष यज्ञबहादुर दनुवार, उपाध्यक्ष गुरुप्रसाद तिमल्सिना, सचिव कमल तामाङ, कोषाध्यक्ष रुपेश तामाङ, सह सचिव विक्रम तिमल्सिना रहेका छन् । सदस्यहरुमा कृष्णबहादुर श्रेष्ठ, निरजकुमार तामाङ, उज्वल तामाङ, दिनेश तिमल्सिना र सविन बस्नेत रहेका छन् । कमल तामाङले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रम गुरुप्रसाद तिमल्सिनाले संचालन गरेका थिए । काभ्रेमा १ सय ६ जना ब्यवसायी रहेकोमा संघमा ७४ जना कृयाशिल भएका छन् । केहि ब्यवसायी पलायन भएका छन् । देशभर २५ सय उद्योगी रहेका छन् । 
    ब्यवसायीहरुले कानुनी तथा ब्यवहारीक समस्या भोगिरहँदा राज्यले गुमाउनु परेका राजश्व तथा आयात बढिरहेको, निर्यात हुन नसकेको, भएका काठहरु गुणस्तर नभएको, ब्यवसायीहरुलाई संरक्षण गर्ने खालका कानुनहरु नभएको ब्यवसायीहरुले गुनासो गरेका थिए । ब्यवसायीहरुले गरेको गुनासोलाई सम्बोधन गर्दै मन्त्री सिलवालले प्रदेश सरकारले सकेसम्म ब्यवसायीहरुको हितमा तथा सामुदायिक र राष्ट्रिय वन संरक्षण गर्ने अभियानमा सरकारको ध्यान गएको बताए ।