2026 April 28/ 02:24: 14pm

    धुलिखेल/अनेरास्ववियु,काठमाडौँ विश्वविद्यालय राष्ट्रिय कमिटीका कार्यवाहक अध्यक्ष अरुण लम्साल र केन्द्रीय क्याम्पस कमिटीका अध्यक्ष उत्सव भट्टराईले विश्वविद्यालय प्रशासन सुधार र शैक्षिक क्षेत्रको गुणस्तर वृद्धिका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन ।
    उक्त पत्रमा काठमाडौँ विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन मेरिटोक्रेसीको आधारमा ‘बोर्ड अफ ट्रस्टी’ बाट नियुक्ति गर्नुपर्ने माग राखिएको छ । पत्र बुझाउँदै, कार्यवाहक अध्यक्ष अरुण लम्सालले भने– ‘शैक्षिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ऐनमा आवश्यक संशोधन र पारदर्शिता कायम गर्न सरकारको विशेष पहल आवश्यक छ ।’
    अध्यक्ष उत्सव भट्टराईले भने–‘विश्वविद्यालय प्रशासनलाई विश्वसनीय बनाउन र सेवा सुविधामा सुधार गर्न विद्यार्थी, शिक्षक, र कर्मचारी सबैको सहभागिता आवश्यक छ ।’ पत्रमा, शैक्षिक क्षेत्रमा प्रविधिको उपयोग गर्दै स्मार्ट कक्षाको स्थापना, डिजिटल उपकरणको प्रयोग, र सरकारी प्रक्रियालाई डिजिटाइज गर्नुपर्ने कुरामा विशेष जोड दिइएको छ । त्यसैगरी, प्राकृतिक विपद् सम्बन्धी पूर्वसूचना प्रणाली विकास, आइटी अनुसन्धान तथा नवप्रवर्तनको प्रोत्साहन र विद्यार्थीहरूको दक्षताका लागि पेड इन्टर्नशिपको व्यवस्था गर्ने सुझाव पनि राखिएको छ ।
    अनेरास्ववियुले लामो समयदेखि विद्यार्थी अधिकार र शैक्षिक सुधारका लागि निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै, यो पत्रमार्फत विश्वविद्यालयको प्रशासनिक सुधारका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरिएको छ । कार्यवाहक अध्यक्ष लम्साल र अध्यक्ष भट्टराईले सरकारलाई सम्बोधन गर्दै भनेका छन, ‘काठमाडौँ विश्वविद्यालयलाई आत्मनिर्भर र सबै वर्गका विद्यार्थीलाई सहज शिक्षा दिने नमुना संस्थाको रूपमा विकास गर्न आवश्यक छ ।’ ध्यानाकर्षण पत्रले विश्वविद्यालयका विभिन्न समस्याहरूको समाधानका लागि सरकारलाई थप प्रभावकारी कदम चाल्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।