2026 April 28/ 11:34: 50am

    बनेपा/काभ्रे सोसाईटी युकेको तर्फबाट काभ्रेपलाञ्चोक जिल्लाका बाढीपहिरो पीडितहरुका लागि राहत उपलब्ध गराईएको छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्थाबाट संकलित रकम जिल्लामा पीडित भएकाहरुका लागि उपलब्ध गराईएको हो । 
    काभ्रे सोसाईटी युकेका कोषाध्यक्ष जीवन थापाले वाढीपहिरोमा परेर निधन भएका ब्यक्तिका आफन्तलाई नगद रकम उपलब्ध गराएको बताए । प्रति ब्यक्ति १२ हजार ७ सयका दरले निधन भएका ७९ जनाका आफन्तलाई रकम हस्तान्तरण गरिने कोषाध्यक्ष थापाले बताए । उक्त कार्यका लागि उद्योग बाणिज्य संघ पनौतीका अध्यक्ष भोला थापा र महासचिव महेश पौडेलले समन्वय गरिरहेका छन् । सहयोग रकम पालिकाहरुमा, वडाहरुमा तथा मृतक ब्यक्तिका घर घर पुगेर समेत हस्तान्तरण गरिएको छ । 
    पहिलो दिन बेथान्चोक र पनौती क्षेत्रका पीडितका आफन्तलाई उपलब्ध गराईएको छ भने बाँकी पीडितहरुलाई पालिका, वडा तथा विभिन्न पायक पर्ने स्थानबाट उपलब्ध गराउने कोषाध्यक्ष थापाले बताए । पनौती उद्योग बाणिज्य संघका अध्यक्ष भोला थापाले काभ्रे सोसाईटी युकेको सहयोगमा पनौती उद्योग बाणिज्य संघका तर्फबाट योगदान गर्न पाएकोमा खुशी ब्यक्त गरे । बेथान्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा अध्यक्षहरुको सहभागिता थियो । पनौती १० का वडा अध्यक्ष मोहन भण्डारी, १२ का अध्यक्ष जयराम केसी सहितको उपस्थितीमा पीडितहरुलाई राहत उपलब्ध गराईएको हो ।