धुलिखेल/स्वस्थ शहर धुलिखेल एक पछि अर्काे कार्यक्रमबाट सम्मानित भएको छ । स्विच एशिया तथा युरोपियन युनियन कोषबाट कार्वन उत्र्सजनमा कुशल भूमिका निर्वाह गरेको भन्दै धुलिखेल नगरपालिका सम्मानित भएको छ ।
धुलिखेल नगरपालिकाले शुन्य कार्वन उत्र्सजन गर्ने नीति तथा कार्यक्रम संचालन गरेको छ । दक्षिण एशियामा धुलिखेल नगरपालिका उत्कृष्ट शहरका रुपमा सम्मानित भएको हो । युनिभर्सिटी इन्सब्रक, मिनर्जी नेपाल, युएनई नर्मलाईजेशन स्पानल, विल्डिङ्ग इनर्जी इफिसिएसी नेपालको साझेदारीतामा उक्त कार्यक्रम संचालन भएको छ । शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ वटा सहर मध्ये पाँचौँ नम्बरमा काभ्रेको धुलिखेल नगरपालिका परेको छ ।
कार्बन उत्सर्जनलाई शून्यतामा झारेर वातावरणमैत्री बन्ने एसियाको पहिलो नगरपालिका पनि धुलिखेल बनेको छ । विश्वमा चुनौतीको रूपमा रहेको कार्बन उत्सर्जनलाई शून्यतामा झारेर एसियाको पहिलो र विश्वका १५ वटा सहरको सूचीमा पर्नुमा नगरपालिकाले धेरै काम गर्नु परेको नगरप्रमुख अशोक ब्याञ्जुले बताए । ‘साना–साना कुरामा ध्यान दिएको अवस्थामा ठुलै काम गरिरहेका हुँदा रहेछौँ । यो उदाहरण पनि हो’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘सामान्यतः सबै नगरपालिकाहरुले गर्ने आधारभूत काम नै गरेका हौं । अहिले वातावरणमैत्री र शून्य कार्बन उत्सर्जन गर्ने नगरपालिकामा एसियाकै पहिलो भयौ । खुसी लागेको छ ।’
धुलिखेल नगरपालिकाले शिक्षा, स्वास्थ्यमा नागरिकको प्रत्यक्ष ख्याल राख्दै आएको छ । ‘एक घर एक धारा, एक वडा पाँच पार्क, स्वस्थ्य शहर, वातावरणमैत्री सहर, बालबालिकामैत्री शहर लगायतका विभिन्न योजनामा काम गरिरहेको छ । नगरपालिकाले आकाशबाट झरेको पानी कलेक्सन गर्ने, आफ्नो उद्योगबाट उत्पादन हुने फोहोरहरूको आफैले ट्रिटमेन्ट प्लान्ट बनाउँछ भने त्यस्ता उद्योगलाई १० प्रतिशत कर छुट गर्ने कानून निर्माण गरेको छ । ‘पानी रिचार्जिङ कार्यक्रमहरूको मोडेलमा पनि काम भइरहेको छ । सवारी साधनहरूबाट उत्पन्न हुने प्रदूषण कम गराउने, उद्योगहरू राख्दा पनि प्रदूषण हुने खालको नराख्ने, प्रदूषण शून्य भएको सहर बनाउने लगायतका काम गरेका हौँ’– उनले भने–‘ति कार्यक्रमहरूले नै कार्बन उत्सर्जनमा कटौती भयो । त्यसरी शून्य कार्बन उत्सर्जन गर्ने नगरपालिका बन्यो ।’ धुलिखेलले दक्षिण एसियामै पहिलो पटक जीवाश्म इन्धन अप्रसार सन्धि अभियानलाई कार्यान्वयनमा ल्याएको उनले बताए ।
सन्धि अन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रूपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई अघि बढाएको उनले बताए । यस अघि पनि वन तथा वातावरण मन्त्रालयले कार्बन उत्सर्जनलाई काम गरेर विश्व बैकबाट पाँच वर्षमा पाँच अर्ब रुपैयाँ नेपाल ल्याउने अनुमानका साथ काम गरिरहेको छ । विश्व बैङ्कले कार्बन उत्सर्जन कटौती गर्न सक्ने देशहरूलाई प्रति टन कार्बनको पाँच अमेरिकी डलर दिने घोषणा गरेको थियो । राष्ट्रसघीय जलवायु सम्मेलन कोप – २६ अगाडी यो सूची सार्वजनिक भएको हो । उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानाडाको टोरन्टो, स्पेनको बार्सिलोना र अमेरिकाको लस–एन्जल्स पनि अटाएका छन् । काभ्रेको धुलिखेल सूचीको पाँचौँ स्थानमा छ ।





