धुलिखेल/समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता विषयक राष्ट्रिय संगोष्ठी सम्पन्न भएको छ ।
स्थितिगत्यात्मक प्रगतिवाद सिद्धान्तको सान्दर्भिकता बारे अनुसन्धान एवं वैचारिक विमर्श अगाडि बढाउने उद्देश्यले हात्तीवन, ललितपुरस्थित काठमाडौँ विश्वविद्यालय परिसरमा राष्ट्रिय संगोष्ठी सम्पन्न भएको आयोजक संस्था सहृदयता समाज नेपालले जानकारी दिएको छ । संगोष्ठीमा विभिन्न विश्वविद्यालयका विद्यावारिधि (पिएचडी.) शोधार्थीहरू सहित २४ जनाले अनुसन्धानपत्र प्रस्तुत गरेका थिए । संगोष्ठीको उद्घाटन प्रसिद्ध शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले गरेका थिए ।
कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक, वरिष्ठ मनोचिकित्सक, सांस्कृतिक चिन्तक एवं लेखक प्रा.डा. अजय रिसालले श्रीमद्भगवद्गीताको आलोकमा स्थितिगत्यात्मकता विषयक मन्तब्य दिएका थिए । उद्घाटन सत्रमा प्रा.डा. कोइराला र प्रा.डा. रिसालका साथै अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारी, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं प्रसिद्ध साहित्यकार डा. टि.एन. जोशी, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछाने र डिभाइन पाथ इन्टरनेशनलकी अध्यक्ष, योगाचार्य एवं समाजशास्त्री योगिनी सरितानन्दीको मन्तव्य दिएका थिए भने समापन सत्रमा प्रसिद्ध संस्कृतिविद् प्रा.डा.वीणा पौड्याल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं प्रसिद्ध समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक एवं विश्व संस्कृत दिवस कार्यपरिषद्का अध्यक्ष प्रा.डा. माधवप्रसाद पाण्डेय र सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक एवं गीता फर् लाइफ अभियानका अभियानकर्ता डा.हरिचन्द्र कमलीले मन्तव्य राखेका थिए ।
संगोष्ठीमा प्यानल विद्वत् विमर्शका दुईवटा सत्रहरू संचालन भएका थिए । विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा पेशाकर्मीहरूले स्थितिगत्यात्मक प्रगतिवादका विभिन्न आयामहरू बारे विचार विमर्श भएको थियो । विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका विभागीय प्रमुख, जरोकिलो महाअभियानका संकल्पकर्ता एवं सिद्धान्तकार डा. निर्मलमणि अधिकारीले वि.सं. २०७६ सालमा आयोजित कूल नौ वटा प्रवचन शृङ्खला मार्फत् “स्थितिगत्यात्मक प्रगतिवाद” सिद्धान्तको व्याख्या गरेका थिए ।
स्थितिगत्यात्मक प्रगतिवाद सिद्धान्तमा केन्द्रित भई नेपाल र विदेशमा पनि धेरै अनुसन्धानकर्ताहरूले अनुसन्धान गर्दै आएका छन् । यो सिद्धान्तको प्रयोग गरी हालसम्म सम्पन्न भइसकेका अनुसन्धानका निष्कर्ष सार्वजनिक गर्न साथै नयाँ अनुसन्धानलाई प्रवर्धन गर्नका लागि संगोष्ठीबाट विशेष योगदान पुगेको साउथ एशियन युनिभर्सिटीका पिएच.डी. शोधार्थी एवं संगोष्ठीका संयोजक टेकराज कोइरालाले बताए ।





