2026 April 28/ 11:34: 49am

    श्रीखण्डपुर/धुलिखेल नगरपालिका वडा नम्वर ५ श्रीखण्डपुरमा शनिबार दिउँसो नेपालीहरुको महान चाड शुभ दिपावली २०८१ तथा नेपाल सम्वत ११४५ (न्हुँदँ) को पावन अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा प्रत्यक्ष म्युजिक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा युवाहरु माझ चर्चित कलाकारहरुका साथै ब्याण्डको सहभागिता रहेको थियो । 
    कार्यक्रम धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु र बरिष्ठ हास्यकलाकार हरिबंश आचार्यले उद्घाटन गरेका थिए । कला, संस्कृति र सभ्यतालाई जोगाउँदै चाडपर्वहरुमा हुने विभिन्न गतिविधिहरुलाई समेत संरक्षित गर्ने उदेश्यले पुस्तान्तरणका लागि उक्त कार्यक्रम महत्वपूर्ण रहेको वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले बताए । कुमा सागर तथा द ख्वापा ब्याण्डको सहभागिता रहेको उक्त कार्यक्रममा अधिकांश युवा युवतीहरुले मनोरञ्जन लिएका थिए । वडा कार्यालय र स्थानीय संघ संस्थाहरुको संयोजमा उक्त कार्यक्रममा श्रीखण्डपुर युवा क्लवको विशेष आयोजना रहेको थियो भने चिवालय समुह, लशकुश युवा क्लवले सह आयोजना गरेका थिए । धुलिखेल नगरपालिका र धुलिखेल नगरपालिका वडा नम्वर ५ को विशेष सहयोग रहेको कार्यक्रममा विभिन्न संघ संस्थाहरुले सहयोग गरेका छन् ।