साधुराम राना मगर
रजवास
जिल्लाको रोशी गाउँपालिका वडा नम्वर ९ रजबासको बल्देउमा पहिरोले भयानक रुप लिएको छ । असोज १०, ११ र १२ गते सम्म परेको अबिरल वर्षात्का कारण उक्त क्षेत्रमा ठुलो पहिरो गएको हो ।
पहिरोले रजबासको झिल्केटोल र देउरालीको बस्ती विस्थापित भएको छ । पहिरोको कारण वकिलबहादुर ज्यु, ठकुरी, नरेन्द्र ज्यु ठकुरी, गणेश बहादुर ठकुरी, तप्तबहादुर ज्यु ठकुरी, प्रेमबहादुर ज्यु ठकुरी लगायतको परिवार नै विस्थापित भएको छ । कमाइ खाने एक धुर जग्गा पनि बाँकी नरहे पछि उनिहरु अहिले सुकुम्बासी बनेका छन् । प्रेम बहादुर ठकुरीको घर र बारी नै बगाएको छ । सोहि बस्तिका झलक मगर, बेनबहादुर शाह ठकुरी, हरिकृष्ण शाह ठकुरी, बिनोदकुमार शाह ठकुरी, सुरेन्द्र शाह ठकुरी, नन्दराज शाह ठकुरी, बिजय राना मगर, हेमबहादुर शाह ठकुरी, चमेली शाह ठकुरी र गङ्गाराम राना मगरको बासस्थान पनि अत्यन्तै जोखिमपूर्ण भएको छ ।
पहिरोले तत्काल विस्थापित र पूर्ण जोखिममा रहेका बस्ती बाहेक अन्य ठूलो बस्तिलाई पनि जोखिम बढेर गएको छ । पहिरोको जोखिम न्यूनिकरण गर्न नसके रोशी गाउँपालिका वडा नम्बर ९ को बल्देउ, रजबास र देउरालीका बस्तिका करिब ४५ घरधुरी विस्थापित हुनुपर्ने अवस्थामा पुग्नेछन् । यसका साथै विन्ध्यवासिनी मावि, सामुदायिक स्वास्थ्य इकाई र मठ मन्दिरहरु पनि जोखिममा पर्नेछन् । नेपालीहरुको चाड दशैंको मुखमा बिपत्ती आइ परे पछि पहिरो पीडितहरुलाई चाडवाड आएको अनुभूति हुन सकेन । विस्थापित भएको २०÷२२ दिन बितिसक्दा पनि सरकारका कुनै पनि निकाय सामान्य निरीक्षण गर्न समेत आएका छैनन् । विस्थापित बिष्णु कुमारी शाहले भनिन्– ‘हामीले कस्को आश गरेर बस्ने ? आफ्नो थातथलो छोडेर जानुको विकल्प छैन ।’ पहिरो नियन्त्रणको लागि सरकारी निकाय र जनप्रतिनिधि तथा सांसद्हरुसँग हारगुहार मागे पनि कसैले वास्ता नगरेको उनिहरुले बताए । विस्थापितहरुको पुनस्र्थापना, जोखिम न्यूनीकरण तथा पहिरो नियन्त्रण गर्ने कार्य जतिसक्दो छिटो गर्न सके दुखेको चोटमा मलम र त्रसित बस्तिमा सुरक्षाको अनुभूति हुने थियो कि ? स्थानीयहरुले भने ।





