धुलिखेल/नेपाल बार एशोसिएसन काभ्रे इकाईमा हरिशरण दाहाल निर्वाचित भएका छन् । दाहाललाई एमाले, माओवादी, बैद्य समुह तथा नेपाली काँग्रेसको विद्रोही समुहले समर्थन गरेको थियो । हरिशरण दाहालले नेपाली काँग्रेस निकट जयराम थापा समहुलाई एक मतले पराजित गरेका हुन् । सत्तामा एकै स्थानमा रहेका नेपाली काँग्रेस र नेकपा एमाले जिल्लाका हरेक मोर्चामा फरक फरक ढंगले प्रतिस्पर्धा गरिरहेका छन् ।
थापालाई समाजवादी, नेपाली कांग्रेसको एउटा समूहका कानून ब्यवसायीहरुले समर्थन गरेका थिए । केहि स्वतन्त्र कानून ब्यवसायीहरु दुबै तर्फ विभाजन भएका थिए । हरिशरण दाहालको समुहबाट नेपाली काँग्रेस निकट निरोजप्रसाद नेपाल उपाध्यक्षका उम्मेदवार थिए । दाहाल समुहका सचिवमा नारायणध्वज तामाङ, कोषाध्यक्ष मुकुन्द मुनाकर्मी, सह–सचिव लालतारा अधिकारी उम्मेदवार थिए । सदस्यहरुमा दिपेन्द्र दनुवार, सुरेशकुमार केसी, राजेन्द्र पण्डित, सुविस्ता जोशी, सुरज तिमल्सिना, उमा थापा, राजकुमार गौतम उम्मेदवार थिए । पार्षद्मा विजयभक्त श्रेष्ठ, कुमारप्रसाद भट्टराई, श्यामकृष्ण खत्री, फडिन्द्र कार्की, खुवनाथ दुलाल, रामप्रसाद मानन्धर उम्मेदवार थिए । राजकुमार गौतम र सुरेन्द्र आचार्य पराजित भए । थापा समुहबाट रमिता मानन्धर र महेन्द्र तामाङ विजयी भए । समाजवादीहरुको चुमचुम पराजयसँगै सकिएको छ ।
मतदानका लागि १ सय २३ सदस्यीय मतदाता सूची सार्वजनिक भए पनि १ सय १५ खसेको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष सहित १३ सदस्यीय कार्य समिति र ६ जना केन्द्रिय पार्षद्मा निर्वाचित भएका छन् । बार एशोसिएसन काभ्रेमा नेपाली काँग्रेस निकट ४३, नेकपा एमाले निकट ३४, नेकपा समाजवादी निकट १५, नेकपा माओवादी निकट १०, बैद्य समुह निकट ८ र स्वतन्त्र १३ कानून ब्यवसायी थिए । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस, समाजवादी र माओवादीका कानून ब्यवसायीहरुको गठवन्धन बनेको थियो ।





