2026 April 28/ 10:00: 22am

पनौती/साहित्यकार सूर्यप्रसाद लाकोजूको नयाँ कृति घामको पर्खाल प्रकाशित भएको छ । लाकोजूको कृति साहित्यकार प्रा.डा.गोविन्दराज भट्टराई, साहित्यकार मोहन दुवाल, समालोचक प्रा.डा.कुमार कोइराला, धुर्व मधिकर्मी र स्वंय लाकोजूले संयुक्त रूपमा विमोचन गरेका थिए ।
    पुस्तकमाथि चर्चा गर्दै समालोचक धुर्व्र मधिकर्मीले नेपाली कविता विधामा आफ्नो फरक प्रवृत्ति बनाई सकेका सूर्य लाकजूको प्रस्तुत कविता कृति वर्तमान नेपाली समाजको एउटा बिम्ब हो । सन्तुष्टि र निराशामा बाँच्न विवश देशका युवाहरुको प्रतिनिधि आवाज हो । मानवीय संवेदना र यथार्थबोधी भावनाले सम्पृक्त कविताहरु समेटिएको प्रस्तुत कविता संग्रह नेपाली साहित्यको पठनीय कृति विचार रहेको बताए । समालोचक प्रा.डा.कुमार कोइरालाले सूर्यका कविता सरल देखिए तापनी त्यसभित्र गाम्भीर्यता हुनु उनको विशेषता भएको मत राखे । विशिष्ट अतिथि साहित्यकार मोहन दुवालले लाकोजूका कविता बलशाली रहेको विचार व्यक्त गरे । सूर्य चम्किलो र उज्यालो रहेको बताउँदै उनले लाकोजुको साहित्य यात्रा उज्यालो रहेको बताए । 
    समालोचक प्रा.डा.गोविन्दराज भट्टराईले लोकार्पण गरिएको कृतिमा विविध भाव झल्कने कविताहरू संग्रहित रहेको बताए । कवितामा देशप्रेम, समाजमा रहेका विकृति बिरुद्द असन्तोष, प्रेम प्रणयका सन्दर्भ, राजनैतिक बेथिति जस्ता बिषय कविले उठाएका छन । तीन दर्जन भन्दा बढी कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद  कथा जस्ता विधामा कलम चलाउँदै आएका छन् । लाकोजू लामो समयदेखि साहित्यिक पत्रकारितामा समेत  कृयाशिल रहँदै आएका छन ।