2026 April 28/ 10:00: 28am

    धुलिखेल/बनेपा र धुलिखेल नगरपालिकाले विपद् पछिको अवस्थालाई ध्यान दिदै तत्काल नागरिकहरुलाई सहयोग गर्ने गरी तयारी गरेका छन् । विपद पछि खोज, उद्दार तथा राहतका लागि दुबै नगरपालिकाले विपद् व्यबस्थापन समितिको बैठक आयोजना गरी उक्त निर्णय गरेका हुन् । 
    धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षमा बसेको बैठकले विपद व्यवस्थापन बैठकले नगर क्षेत्र भित्र पहिरो तथा बाढीबाट क्षति भएका परिवारलाई राहत उपलब्ध गराउन तत्कालै एक करोडको कोष स्थापना गर्ने निर्णय गरेको छ । कोषमा रकम सहयोग गर्न नगरपालिकाले विभिन्न संघ–संस्था तथा ब्यक्तिहरुलाई अनुरोध गरेको छ । धुलिखेलमा विपदबाट दुई जनाको निधन भएको छ  भने एक जना बेपत्ता छन् । ५१ जना घाइते छन् भने एक हजार भन्दा धेरै घरहरुमा क्षति पुगेको छ । सडक, खानेपानी लगायतका पूर्वाधारहरुमा क्षति भएको छ । क्षतिको विस्तृत बिवरण संकलनका लागि प्रत्येक वडामा प्राविधिक सहितको टोली परिचालन गर्ने निर्णय गरिएको छ । टोलीले विवरण संकलन गर्ने, राहत तथा उद्धारका लागि नगरपालिकाबाट स्थापना गरिएको एक करोडको विपद् राहत कोष स्थापना गर्ने, त्रिपाल वितरण गर्ने, सडक, खानेपानी लगायतका सेवाहरु क्रमिक रुपमा सुचारु गर्ने एवं संघ, प्रदेश सरकार तथा विभिन्न संघ, संस्था, दातृ निकाय र निजी क्षेत्रलाई राहत कोषमा सहयोग गर्न आह्वान गर्ने निर्णय गरिएको नगर प्रमुख अशोक ब्यान्जुले बताए ।