बनेपा/बनेपा नगरपालिकामा नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा बसेको बैठकले तत्काल वडामा विपत् व्यबस्थापन समिति मार्फत क्षतिको विवरण संकलन गरी नगरपालिकमा उपलब्ध गराउने निर्णय गरेको छ ।
सोहि विवरणका आधारमा विपद्मा परि मृत्यु हुनेहरुका परिवारलाई जनही ३० हजार, घाईतेलाई २० हजार, पूर्ण क्षति भएको घरलाई १० हजार, गोठलाई ५ हजार, उच्च जोखिममा परेको घरलाई ५ हजार, पूर्ण रुपमा घर क्षति भई अन्यत्र बसोबास गर्ने परिवारलाई १० हजार, दुहुनो गाई वा भैसी मरेकाको हककमा १० हजार र बाछा बाछी बाख्राहरुको हकमा प्रतिवटा ५ हजारका दरले उपलब्ध गराउने निर्णय गरेको छ । त्यसैगरी वडाका मुख्य सडकहरु तत्काल सञ्चालन गर्ने, सहायक सडक, खानेपानी र विजुली क्रमैसँग पुनर्निर्माण गर्ने निर्णय गरेको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले विपतको समयमा सबैको साथ र सहयोग चाहिने बताए । नगरमा आईरहेको एकीकृत खानेपानी पुर्ण रुपमा क्षति भएकाले नगरले केहि दिनमा नै विकल्पमा खानेपनी उपलब्ध गराउने बताए । नगरले खानेपानी, क्षती भएका सडक, विजुली पुर्ण रुपमा सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । बैठकमा नगर उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाई, प्रशासकीय अधिकृत धुर्बराज नेपाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, ईलाका प्रहरी कार्यालय, शिरमेमोरियल अस्पताल, नेपाल रेडक्रस सोसाईटी, काभ्रे उद्योग बाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।





