शंखु, धुलिखेल/गौरीशंंकर साना किसान कृषि सहकारी सस्था लि को १३ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष सिताराम भट्टराईको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरिष्ठ कलाकार हरिवंश आचार्य, धुलिखेल नगरपालिका १२ नम्वर वडाका वडाध्यक्ष मोहनप्रसाद लामिछाने लगायतका ब्यक्तिहरुको विशेष आतिथ्यता रहेको थियो ।
साधारण सभाको बन्द सत्रले सुर्वण श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको छ । समितिमा उपाध्यक्षमा रमिता पौडयाल सहित १३ सदस्यीय संचालक समिति चयन गरेको छ । शिवप्रसाद आचार्यको संयोजकत्वमा नरहरी कुवँर र स्वस्ती बर्जाचार्य रहेको तीन सदस्यीय लेखा समिति निर्बिरोध चयन भएको छ । वडा अध्यक्ष समेत रहेका मोहनप्रसाद लामिछानेको संयोजकत्वमा कैलास पौडेल र अनन्त सत्याललाई सभाले बन्द सत्र संचालन गर्ने जिम्मेवारी प्रदान गरेको थियो ।
धुलिखेल वडा नं १०, १२, ९ र ११ पनौती वडा नं ९ र १० नमोबुद्ध वडा नं १ र ११ वडाका १ हजार ६ सय ६१ सदस्यहरुलाई १३ वटा अन्तर समुह मार्फत समेटिएको छ । संस्थाले आर्थिक वर्षको अन्त्यसम्ममा १६ करोड बराबरको कारोवार गरेको छ । कुलपुँजी १४ करोड रहेको छ । एक वडा एक उत्पादनको आधारमा सुन्तला पकेट क्षेत्र, तरकारी पकेट क्षेत्रका लागि आवश्यक पर्ने प्रविधि तथा सिप हस्तान्तरणका लागि प्रदेश सरकारले सहयोग गर्ने मन्त्री प्रकाश श्रेष्ठले बताए । सिंचाइ, यान्त्रिकरण, प्रबिधि र तालिममा सहयोग गर्दै उत्पादित तरकारी तथा फलफुलको पकेट क्षेत्र निर्माण गर्ने र हाटबजार संरचना तयारीका लागि सहयोग गर्ने उनले बताए ।
विशिष्ट अतिथी कलाकार हरिवंश आचार्यले किसानहरुले आफ्नो उत्पादनको बजार प्राप्त नभएकाले बिचौलियाले किसान र उपभोक्ता दुबैलाई शोषण गरिरहेकाले यसको अन्त्यका लागि तीन तहकै सरकार जिम्मेवार हुनु पर्ने बताए । वडा अध्यक्ष मोहन लामिछानेले साना किसानलाइ सहयोग गर्दै उत्पादन बृद्धिमा वडा सरकारको तर्फबाट सक्दो प्रयत्न गरिएको बताए । अध्यक्ष सिताराम भट्टराईले आर्थिक वर्ष २०८०÷०८१ मा किसानहरुको माझ विभिन्न कार्यक्रम कार्यान्वन गरिएको बताए । कृषि विकास कार्यालय काभ्रेपलान्चोकको सहयोगमा तरकारी प्रर्वद्धन कार्यक्रम, सुपरजोन बनेपा सेवा केन्द्रबाट यान्त्रिकरण, वडा कार्यालय, बागमती प्रदेश कृषि तथा सहकारी बिभाग, कृषि तथा पशुपंछी मन्त्रालय, नगरपालिका तथा विभिन्न संघ संस्था र ब्यक्तिहरुबाट किसानहरुलाई प्राप्त सहयोग अनुदान समानुपातिक रुपमा वितरण गरिएको अध्यक्ष भट्टराईले बताए सभामा प्रस्तुत गरिएका प्रतिवेदनहरु सर्वसम्वत पास भएका थिए ।





