धुलिखेल/नेपाली युवा उद्यमी मञ्चको १४ औ शाखा काभ्रेपलाञ्चोक जिल्लामा स्थापना भएको छ । युवा ब्यवसायी ज्योत्सना सैंजुको अध्यक्षतामा मञ्चको पहिलो कार्यसमिति गठन गरिएको छ । धुलिखेलमा आयोजित कार्यक्रममा उक्त समिति घोषणा गरिएको हो ।
मञ्चको प्रथम उपाध्यक्ष आशिष हुमागाई, दोश्रो उपाध्यक्ष क्षितिज श्रेष्ठ रहेका छन् । कार्यसमितिमा हेवेन श्रेष्ठ, जुलिया माकजु श्रेष्ठ, डा.श्रीया श्रेष्ठ, रोहित श्रेष्ठ, अजय थापा, सुशान्त थपलिया, रोजन श्रेष्ठ र श्रीजल रंजित छन् । काभ्रे च्याप्टरमा पहिलो चरणमा ३० जनाले सदस्यता प्राप्त गरेका छन् । सोहि सदस्य संख्याका आधारमा कार्य समिति गठन भएको हो ।
कार्य समितिको घोषणा तथा पहिलो भेलामा मञ्चका पुर्व केन्द्रिय अध्यक्ष एवं युवा उद्यमी ब्यवसायी सौरभ ज्योति, अध्यक्ष कुशलसुन्दर श्रेष्ठ, केन्द्रिय समितिका पुर्व तथा वर्तमान पदाधिकारीहरु, विभिन्न समितिका पदाधिकारीहरु, जिल्लाका विभिन्न क्षेत्रमा कृयाशिल युवा उद्यमी ञब्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै युवा उद्यमी सौरभ ज्योतिले मञ्चको स्थापनाको उदेश्य, अवस्था र मुलुकको पछिल्लो अवस्था र सम्भावनाका बारेमा धारणा राखेका थिए । ‘मुलुकमा समृद्धी सम्भव छ, युवाहरुलाई आशा जगाउन र रोजगारमा संलग्न गराउन उद्यमी ब्यवसायीहरुको पहिलो जिम्मेवारी र दायित्व छ’– ब्यवसायी सौरभ ज्योतीले भने–‘खर्च गर्ने र मुलुक निर्माण गर्ने सबै युवाहरु बाहिरिन थालेका छन् । यो डरलाग्दो अवस्था रोक्न सबै क्षेत्र सक्रिय रहनु आवश्यक छ ।’ मञ्चमा आवद्ध हुनु भनेको सम्वन्ध विस्तार, कानुन तथा नीति निर्माणमा समन्वय र सहजीकरण, अनुभव आदान प्रदान तथा सिकाई लगायतका विषय प्रमुख रहेको बताए । विकासमा साझेदारी र रोजगारको अवसर सिर्जना गर्नु ब्यवसायीहरुको पहिलो कर्तब्य रहेको उनले बताए ।
नेपाली युवा उद्यमी मञ्च नेपालमा रहेका युवा उद्यमीहरूको सबैभन्दा ठूलो संगठन रहेको उनले बताए । संस्थाले निरन्तर नेपाली युवा उद्यमीहरूको आवाज बोक्दै आएको सहभागिहरुले बताए । काठमाडौँ, पोखरा, ललितपुर, चितवन, रुपन्देही, सुर्खेत, कैलाली, विरगंज, जनकपुर, विराटनगर, सुनसरी, झापा, नेपालगञ्ज लगायतका स्थानमा मञ्च गठन भईसकेको छ । १३ वटा च्यापटरमा कुल मिलाएर ८ सय ५० भन्दा धेरै युवा उद्यमीहरु प्रत्यक्ष रुपमा सहभागी भएर उद्यमसिलतालाइ प्रर्वद्धन गरिरहेका छन् । नेपाली युवा उद्यमी मञ्च काभ्रेको स्थापना बनेपा, धुलिखेल पाँचखाल, पनौती, नगरकोट, क्षेत्र वरपरका युवा उद्यमी र युवा उद्यमशीलता प्रबद्र्धधन र विकास गर्ने दृष्टिकोणले गरिएको अध्यक्ष ज्योत्सना सैंजुले बताईन् । काठमाडौं र ललितपुर पछि बागमती प्रदेशमा काभ्रे तेस्रो च्याप्टर हो । उक्त संस्थामा सदस्य बन्न १८ देखि ४० वर्षको युवा कुनै न कुनै किसिमको व्यवसायमा सक्रिय रुपमा संलग्न हुन तथा नेपालको व्यवसायिक वातावरणमा योगदान गर्न सक्ने क्षमताको हुन आवश्यक छ ।





