2026 April 28/ 07:11: 00am

    बनेपा/नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २१ औ जिल्ला परिषद् नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । २१ आंै जिल्ला परिषदबाट संगठनको अध्यक्षमा भिमसेन हुमागाई चयन भएका छन् । 
    तत्कालीन अध्यक्ष रामचन्द्र थापा पेशागत महासंघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भए पछि उक्त पद रिक्त थियो । रिक्त पदमा भिमसेन हुमागाईलाई परिषद्ले अध्यक्षमा चयन गरेको बताईएको छ । त्यसैगरी उपाध्यक्षमा विद्यालक्ष्मी देउजा, सचिव योगेन्द्र प्रसाद बडाल, कोषाध्यक्षमा चन्द्रप्रसाद तिमल्सिना चयन भएका छन् । अन्य पदमा अघिल्लो कार्य समितिका सदस्यहरुको निरन्तरता रहेको छ । 
    प्रमुख अतिथी भण्डारीले आफ्नो अधिकार प्राप्त गर्न र पेशागत सुरक्षाको अनुभूती दिलाउन सङ्ठनले स्थापनाकाल देखी नै निरन्तर लागेको बताए । शिक्षक परिर्वतनको संवाहक भएपनि शिक्षकलाई राज्य  र समाजले फरक दृष्टिकोणले हेर्ने गरिएको भण्डारीले बताए । कार्यक्रममका प्रमुख बक्ता नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सांसद् तथा पुर्व मन्त्री गोकुल बास्कोटालाले पुरानो शिक्षण सिकाई अब काम नलाग्ने बताए । शिक्षकहरु पनि समय र परिस्थिती अनुसार अपडेट भई शिक्षा प्रदान गर्नु पर्ने बताए । नेपाल सानो देशमा दुईथरी शिक्षा हुन नहुने बताउँदै बास्कोटाले सामुदायिक विद्यालयको शिक्षा खस्कदै जानु, पुर्वाधार पर्याप्त हुँदा र शिक्षक पनि पर्याप्त हुँदा शिक्षाको स्तरीयता कसरी खस्कँदै गयो कारण खोज्नु पर्ने बताए । विद्यार्थीहरुलाई नेपालमै अडिने शिक्षा प्रदान गर्न सरकारले के गर्नु पर्ने हो, विद्यालयले के गर्नु पर्ने कारण खोजी तुरुन्त विद्यार्थीहरुलाई नेपालमै बस्ने शिक्षा प्रदान गर्नुपर्ने बास्कोटाले बताए । 
    कार्यक्रममा पेशागत महासघंका केन्द्रिय सचिब श्यामप्रसाद पाण्डे, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, पेशागत महासघं काभ्रेका अध्यक्ष केशब काफ्ले लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा संगठनको प्रतिबेदन अध्यक्ष रामचन्द्र थापाले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष योगेन्द्र बडालले प्रस्तुत गरेका थिए । 
कार्यक्रममा दीर्घसेवी शिक्षक २५ वर्ष पुरा गरेका शिक्षक, नव प्रवेशी शिक्षक र शिक्षक सेवामा बढुवा भएका शिक्षकहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी १३ वटै पालिकाको सामुदायीक विद्यालयबाट २०८० सालको एसईई परीक्षामा उत्कृष्ट छात्र र छात्रालाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सहसचिव विद्यालक्ष्मी देउजाले राखेकी थिईन् । कार्यक्रम सचिव भिमसेन हुमागाईले संचालन गरेका थिए । कार्यक्रमको सभापतित्व अध्यक्ष रामचन्द्र थापाले गरेका थिए ।