2026 April 28/ 07:12: 12am

    धुलिखेल/हिजो साउन २३ गते बुधबार देखि एसईई पुरक परीक्षा शुरु भएको छ । हिमालय मावि बनेपा, आजाद मावि बनेपा, शिक्षा सदन मावि बनेपा, सञ्जीवनी मावि धुलिखेल र पूर्ण सञ्जीवनी मावि धुलिखेलमा परीक्षा केन्द्र तोकिएको छ । जस अन्र्तगत हिमालय माविमा ५ सय ४८, आजादमा ४ सय ७, शिक्षा सदनमा ३ सय ९९, सञ्जिवनीमा ५ सय ५९ र पुर्ण सञ्जिवनीमा ५ सय २२ जना विद्यार्थी सहभागि भएका छन् । 
    २ हजार १ सय ५८ जना विद्यार्थीहरुले परीक्षा दिने गरी फाराम भरेका छन् । सरकारले एसईईमा अनुर्तिण भएका विद्यार्थीहरुका लागि सबै विषयको पुरक परीक्षा दिने ब्यवस्थापन गरे पछि जिल्लामा ८ वटा विषयका लागि ६ हजार ५ सय ८९ वटा परीक्षा संचालन हुने भएका छन् । परीक्षाका लागि प्रहरीले प्रति केन्द्र १५ जनाका दरले सुरक्षाकर्मी खटाएको छ । विद्यार्थी संख्याका आधारमा केन्द्राध्यक्षहरुले परीक्षा निरिक्षक नियुक्ति गरेका छन् । परीक्षाको नियमित अनुगमनका लागि जिल्ला परीक्षा समन्वय अधिकारी सहित स्थानीय पालिकाकाको शिक्षा समितिको टोली खटिएको छ । यसअघि केन्द्राध्यक्षहरुलाई प्रमुख जिल्ला अधिकारी सुर्य सेढाई लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, केन्द्राध्यक्षहरु र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकाल लगायतको सहभागितामा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । परीक्षामा सबैभन्दा धेरै गणित विषयमा १ हजार ६ सय ७४ जनाले परीक्षा दिदैछन् । विज्ञान विषयमा १ हजार ८८ जना छन् । ऐच्छिक प्रथम विषयमा ९ सय ३७, सामाजिक विषयमा ९ सय १९, अंग्रेजी विषयमा ८ सय ८८, नेपाली विषयमा ६ सय ६५, ऐच्छिक दोश्रोमा ३ सय ९६ विद्यार्थी सहभागि भएका छन् । प्राविधिक विषयमा १७ जना सहभागि भएका छन् । हुँदैछन् । परीक्षाको सबै तयारी सकिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख उप सचिव देवका ढकालले बताईन् ।