पनौती/ज्यालाचिटी खानेपानी उपभोक्ता समितिको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक दाहाल, खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिपक थापा, वडा सदस्य सविता थापा, प्रकाश बञ्जारा लगायत उपभोक्ताको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख रामशरण भण्डारीले सबै नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउनु नगरपालिकाको दायित्व भएको बताए । यसैअनुरुप सबै ठाउँमा खानेपानी उपलब्ध गराउने गरि काम भइरहेको उनको भनाई छ । कानुनसँगै व्यवहारिक पक्षलाई पनि ध्यान दिएर काम गर्न उनले उपभोक्ता समितिलाई आग्रह गरेका छन । एकिकृत खानेपानी मार्फत सबै ठाउँमा पानी पुर्याउने प्रयास भएपनि केहि ढिलाई भएको उनले बताए । वडा अध्यक्ष दिपक दाहालले सबैको सहयोगमा वडाका ६ सय घरधुरीमा २४ सै घण्टा खानेपानीको सुविधा पुयाईएको जानकारी दिए । बाँकी घरधुरीमा पनि छिट्टै खानेपानी पुर्याइने उनले बताए । खानेपानीको विषयमा कतिपय मानिसले एक अर्कालाई जुधाउने प्रयास गरिरहेको भन्दै उनले खानेपानीमा राजनीति नगर्न समेत सचेत गराएका छन ।
आफ्नो काममा पारदर्शिता कायम गर्न समेत उनको आग्रह छ । उनले खानेपानी ट्यांकीको मर्मत सम्भार, क्षमता वृद्धि, स्रोत संरक्षणका ध्यान दिन सकेमात्रै एक घर, एक धाराको सपना साकार हुने बताए । सबै क्षेत्रमा खानेपानी पुर्याउनका लागि कानुनी जटिलता रहेको भन्दै त्यसलाई सहज बनाउने विषयमा समेत ध्यान दिन वडा अध्यक्ष दाहालले समितिलाई आग्रह गरेका छन ।
उपभोक्ता समितिका अध्यक्ष दिपक थापाले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै खानेपानी उपलब्ध गराइरहेको बताए । कार्यक्रममा खानेपानी उपभोक्ता समितिका सदस्य अक्कलसिं थापा, स्थानीय नेत्र बहादुर थापा, समाजसेवी मिरा चापागाँई, भिमप्रसाद बञ्जारा लगायतले खानेपानीको सहज उपलब्धता, भइरहेका प्रयास र चुनौतीका बारेमा धारणा राखेका थिए । कोषाध्यक्ष पुजा सापकोटा श्रेष्ठले आम्दानी खर्च जानकारी गराएकी थिइन् । उनका अनुसार सामान खरिद, कर्मचारी तलव, ज्याला भत्ता, फर्निचर। संरचना निर्माण लगायतका शीर्षकमा २० लाख ९८ हजार खर्च भएको छ भने बैंक व्याज, प्रदेश सरकार, वडा कार्यालय, संस्थाको आय रसिद लगायतका विभिन्न शीर्षकमा २५ लाख ८५ हजार ८ सय ४३ रुपैयाँ आम्दानी भएको छ । ५ लाख ८६ हजार ५ सय ५४ रुपैयाँ कोषमा रहेको सापकोटाले बताइन् । ज्यालाचिटी उपभोक्ता समिति मार्फत २ सय ७८ घरधुरीमा खानेपानी वितरण भइरहेको छ । ज्यालाचिटीको तल्लो भेगका ६५ घरधुरीमा भने अझै खानेपानी सुविधा पुगेको छैन । कार्यक्षेत्र विवादका कारण खानेपानी वितरणमा समस्या भएको उपभोक्ता समितिको भनाई छ भने स्थानीयले विधान संशोधन गरेर खानेपानी वितरण गर्न माग गरेका छन ।
पनौती नगरपालिका वडा नम्बर ४ ज्यालाचिटीमा घर–घरमा स्वच्छ खानेपानी पुर्याउने उदेश्यले आजभन्दा ठिक १२ वर्षपहिले अर्थात २०६८ सालमा सुरु गरेको अभियानले २०८० सालमा सार्थकता पाएको छ । एक घर, एक धारा अभियानका लागि पनौती नगरपालिका वडा नम्बर ४, पनौती नगरपालिका र वागमती प्रदेश सरकारको सहयोग रहेको छ ।





