2026 April 28/ 06:58: 16am

    बनेपा/गोसाईस्थान शैलेश्वर संरक्षण समिति बनेपा ६, बुडोलको साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । वडा अध्यक्ष सचितानन्द केसीको प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष भेषराज शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिले गोसाईस्थान क्षेत्रमा गरेका कार्यहरुका बारेमा जानकारी गराईएको थियो । 
    कार्यक्रममा बोल्दै वडा अध्यक्ष केसीले बनेपाको शिरमा रहेको गोसाईस्थानलाई धार्मिक, सामाजिक र आर्थिक रुपले समेत पर्यटकिय क्षेत्रका रुपमा विकास गर्दै अघि लैजान वडाको समन्वयमा गठित समिति मार्फत भएका कार्यहरुले पर्यंटकिय क्षेत्रको विकासका लागि सहयोग पुगेको बताए । ‘वडा मार्फत स्थानीय र प्रदेश तथा संघ सरकारलाई समेत गोसाईस्थान क्षेत्रको विकासका लागि सहजिकरण गरिरहेको छ’–वडा अध्यक्ष केसीले भने–‘आगामी दिनमा यो क्षेत्रको विकासका लागि थप सहयोग र समन्वय हुनेछ ।’ कार्यक्रममा पुर्व वडा अध्यक्षहरु भैरव केसी र कृष्णबुद्ध बजगाई लगायतले मन्तब्य राखेका थिए । 
    अध्यक्ष भेषराज शाहले २०७५ मंसिर १५ गते भएको आम भेलाबाट गठित समितिले गोसाईस्थान क्षेत्रमा विभिन्न दाताहरुको सहयोगमा शिवजीको मुर्ति माथि पित्तल, घण्ट, रेलिङ्ग, गणेश, मुक्तिनाथ, कृष्ण र हनुमानको मुर्ति निर्माण भएको बताए । भजन घर, प्रदेश शौचालय निर्माण, पार्क, बगैचा, विश्रामस्थल, बृक्षारोपण लगायतका कार्यहरु भईरहेको अध्यक्ष शाहले बताए । संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा निर्माण भएका पुर्वाधारहरुको संरक्षण र दिगोपनाका लागि स्थानीय र वडा स्तरबाट समन्वय र सहयोग आवश्यक भएको उनले बताए । कार्यक्रममा कोषाध्यक्ष रेश्मा थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् भने समाजसेवी भोला केसी, विन्ध्यबासिनी प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद तिमल्सिना, गोसाईस्थान सामुदायिक वनका अध्यक्ष राजेन्द्र थापा, नैमिषारन्य संरक्षण समितिका कृष्णमणी कुईकेल लगायतको सहभाागिता रहेको थियो । सभा पछिको भेलालबाट नयाँ नेतृत्व चयन गरेको छ ।