2026 April 28/ 05:30: 26am

    पनौती/पनौती नगरपालिका वडा नम्बर १ ले उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ । एसईईमा उत्तीर्ण विद्यार्थी र शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने शिक्षकलाई सम्मान गरिएको हो ।
    वडा भित्रका तीनवटा विद्यालय शान्ति निकेतन मावि, भालचन्द्र मावि र न्यू राइजिङ इङलिस सेकेण्डरी स्कुलबाट २०८० सालको एसईईमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १२ जना शिक्षकलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको छ । २०८० सालको एसईईमा उत्तीर्ण ५३ जना विद्यार्थीलाई पनि सम्मान सहित बधाई ज्ञापन गरिएको छ । कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने उप–प्रमुख गिता बञ्जाराको विशिष्ट आतिथ्यता रहेको थियो ।
    सम्मान तथा बधाई कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष जयकुमार लामाको अध्यक्षता रहेको थियो । शिक्षक र विद्यार्थीलाई थप हौसला प्रदान गर्नका लागि र शिक्षक विद्यार्थीको मेहनतको कदर गर्दै सम्मान गरिएको वडा अध्यक्ष लामाले जानकारी दिए । सम्मान कार्यक्रममा वडा सचिव भिमप्रसाद दाहाल, बालमैत्री सहजकर्ता तुलप्रसाद सापकोटा, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थिती रहेको थियो ।