श्रीखण्डपुर/जग्गा प्लटिङ्ग गर्ने क्रममा ब्यवसायीहरुले सार्वजनिक जग्गा अतिक्रमण गरे पछि शुरु भएको विवाद धुलिखेल नगरपालिका ५ स्थित वडा कार्यालयले जितेको छ । वडा कार्यालयले मुद्दा जितेको केहि महिना पछि नमुना बालमैत्री पार्क निर्माण कार्य शुरु भएको छ ।
श्रीखण्डपुर ५ स्थित चिवालमुनीको साहीटोल उपभोक्ता समितिले लक्ष्मणकुमार कर्माचार्य लगायतलाई मुद्दा दर्ता गरेको थियो । जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले २०७९ चैत्र १० गते नै यक्त मुद्दा डिसमिसको फैसला गरेको थियो । २०७७ असोज २९ गते जिल्ला अदालतमा उक्त मुद्दा दायर भएको थियो । लक्ष्मण कर्माचार्यले २०७९ पुष ८ गते देखिको तारेख गुावरी कानून बमोजिम थाम्ने थमाउने अवधि समेत ब्यतित भएकाले डिसमिस हुने फैसला सुनाएको हो । लामो समय देखि उक्त क्षेत्रमा भएको विवाद अदालतको फैसला पछि स्थानीय सरकारले वाल लगाएर संरक्षण गरेको हो । ‘साढे २ आना भन्दा धेरै क्षेत्रफल भएको सार्वजनिक जमिन संरक्षण गरी बालमैत्री पार्क निर्माण शुरु गरिएको छ’–वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठले भने–‘तत्कालीन न्यायिक समिति, धुलिखेल नगरपालिका प्रमुख, अदालत तथा सरोकारवाल निकायलाई धन्यवाद दिन चाहन्छौं ।’ न्यायिक समितिमा परेको उजुरीमा संयोजक विमला शर्माले सार्वजनिक संरक्षण गर्ने वडाको प्रयासलाई समर्थन गर्दै जग्गा संरक्षण गर्न निर्देशन दिएको थियो ।
सोहि निर्णयलाई समेत आधार मान्दै जिल्ला अदालतले मुद्दाको प्रकृति हेरेर सुनुवाई गरिरहेको थियो । वादीले म्याद गुजारेर बसेकाले मुद्दा डिसमिस भएको हो । अध्यक्ष श्रेष्ठले उक्त क्षेत्रको संरक्षण गरी नुमना पार्क बनाउन शुरु गरिएको बताए । नगर प्रमुख अशोक ब्याञ्जु, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठ, वडा सदस्यहरु, वडा सचिव लगायतले पार्क निर्माणको अवलोकन गरेका थिए ।





