2026 April 28/ 05:31: 07am

धुलिखेल/५४ करोड ९९ लाख ७ सय ८० रुपैया क्षतिपूर्ति मागदावी गरिएको काभ्रेपलाञ्चोक जिल्लाको चर्चित आपरधीक घटना विस्फोट पदार्थ सहित बोधिचित्तको रुख काटेको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकको आदेशले पुर्पक्षका लागि थुनामा रहेका सिजन भन्ने मानबहादुर तामाङलाई उच्च अदालत पाटनले असार २० गते ५० लाख धरौटीमा छाड्न आदेश दिएको छ । उनी शुक्रबार जिल्ला अदालत काभ्रेपलाञ्चोकमा धरौटी बुझाउँदै रिहा भएका छन् । 
    उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र ब्रजेश प्याकुरेलको संयुक्त इजलाशले विस्फोटक पदार्थ, अपराधिक उपद्रव, संगठित अपराध मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०८१ जेठ २८ गते गरेको आदेश मिलेको नदेखिँदा बदर गर्ने आदेश गरेको हो । मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा ६८ तथा ७२ समेतको आधारमा प्रतिवादी सिजन भन्ने मानबहादुर तामाङलाई ५० लाख वा सो बराबरको जमानत दिएमा तारेखमा राख्नु भन्ने आदेश दिएको छ । उच्च अदालत पाटनले सिजन भन्ने मानबहादुरलाई मुख्य योजनाकार नभएकाले छाडिदिन भनेको हो । तिनै मानबहादुर तामाङले २०७६ साल देखि मालामा विवाद गर्दै आएका थिए । उनकै योजनामा अष्ट्रेलिया रहेका कविन्द्र तामाङ र छिमेकी देश चिनमा रहेका याङ कैलिङलाई रुख काट्नु केहि दिन अघि नेपाल झिकाएका थिए । रुख काट्ने योजना बनाउँदै प्रस्ताव समेत लगेका मानबहादुरको योजनामा सागर भनिने रामकृष्ण मैनाली, विजय हुमागाई, असल मोक्तान र अजय भनिने रामजी श्रेष्ठ सहभागि थिए ।
     जिल्ला सरकारी वकीलको कार्यालयले पक्राउ परेका दुर्गालाल तामाङ र धिरज भन्ने श्यामकृष्ण मैनालीलाई ५८ दिन हिरासत राखेर कसुर कायम हुन नसकेको ठहर गर्दै रिहा गरेको थियो । जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको उक्त निर्णय शक्ति, सत्ता र कानूनका धज्जि उडाउँदै ब्यक्तिगत स्वार्थमा लिप्त भएको भन्दै सर्वाेच्चमा रिट दर्ता भएको थियो । रिट पछि सर्वाेच्चले कैफियत झिकाउने आदेश गरेको जाहेरवाला समिप त्रिपाठीले बताए ।