2026 April 28/ 05:30: 28am

    धुलिखेल/संयुक्त जिल्ला बजार अनुगमन समितिको बैठक तथा स्वच्छता सम्बन्धि सरोकारवालासँग अन्र्तक्रिया तथा छलफल कार्यक्रम धुलिखेलमा प्रमुख जिल्ला अधिकारी सुर्य सेढाँईको अध्यक्षतामा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी सेढाईले बजारको स्वच्छता कायम राख्न नियमित अनुगमन, उपभोक्ता सचेतना तथा ब्यवसायीहरुलाई गुणस्तर कायम राख्न कानूनी प्रकृयाहरु पुरा गरी नागरिक प्रतिको दायित्व पुरा गर्न अनुरोध गरे । 
    कार्यक्रममा जिल्ला प्रशासन कार्यालयको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले आर्थिक वर्ष २०८०÷०८१ मा बजार अनुगमनका क्रममा भएका गतिविधिहरुका बारेमा जानकारी गराउँदै आगामी वर्षका योजनाहरुका बारेमा जानकारी गराएका थिए । खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेकी प्रमुख मनिषा चापागाईले खाद्यको गुणस्तर, स्वच्छता तथा अनुगमनका क्रममा पाईएका तथ्य तथ्यांकहरु, उपभोक्ताहरु सचेत भएको तथा ब्यवसायीहरु पनि सचेत हुँदै गएको बताईन् । एक वर्षमा भएका कार्यक्रम तथा प्रगतिका बारेमा जानकारी गराउँदै चापागाईले आगामी कार्यक्रममा सरोकारवालाहरुको सहभागितामा सुधारका कार्यक्रमहरु गर्न सकिने बताईन् । 
    कार्यक्रममा उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख यज्ञप्रसाद वलीले कार्यालयको तर्फबाट भएका प्रगतिका बारेमा जानकारी गराएका थिए । उद्योग तथा बाणिज्य कार्यालय र खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य मञ्जु कोँजु, राष्ट्रिय उपभोक्ता मञ्च काभ्रेका अध्यक्ष माधव श्रेष्ठ, होटल एशोसिएनका प्रल्हाद प्याकुरेल, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी राजकुमार श्रेष्ठ तथा विभिन्न कार्यालय र सरोकारवाला कार्यालयका ब्यक्तिहरुको सहभागिता रहेको थियो । 
    वर्षभरी बजार अनुगमनका क्रममा भएका प्रगति, समस्या तथा चुनौतीका बारेमा आगामी वर्षमा सुधार गर्दै लैजानु पर्नेमा सहभागीहरु एकमत देखिएका थिए ।