2026 April 28/ 05:31: 08am

बनेपा/पत्रकार नवराज बजगाईले आफ्नो जन्म दिन असहायहरुसँग मनाएका छन् । बजगाईले धुलिखेल–१२ शखुंमा रहेको मानव कल्याण सेवाघरलाई खाद्यान्न तथा लत्ता कपडा प्रदान गरेका छन् । 
नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डटकमका प्रधान सम्पादक रहेका बजगाईले गत मंगलबार आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्म दिनको अवसर पारी उक्त सामानहरु हस्तान्तरण गरेका हुन् । सँगै उनीहरुलाई खाना समेत खुवाएका थिए । 
हस्तान्तरण कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछाने, पुर्व वडा अध्यक्ष हर्क तामाङ, धुलिखेल–१० का वडा अध्यक्ष गोबिन्द भण्डारी, एमाले धुलिखेल अध्यक्ष दयाराम महत लगायतको सहभागिता रहेको थियो । बजगाईले अन्य खर्च गर्नुभन्दा थोरै भएपनि मानव कल्याण सेवा घरमा रहेका असहायहरुलाई सहयोग गरेको बताए । विगतमा पनि र आगामी दिनमा समेत आफ्नो जन्मदिनमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । 
सेवा घरकी अभियन्ता दिपिका मानवले मानव कल्याण समाजले आफ्ना सातवटा सेवा केन्द्र मार्फत असहायहरुको सेवा गरि रहेको र सबै सेवा केन्द्रमा गरी अहिले करिव ३ सय र धुखिखेल सेवा घरमा ७५ जना आश्रित रहेको बताईन् । सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य पीडितहरूको सेवाको लागि ७ वर्षअघि मानव कल्याण समाजको शाखा कार्यालय धुलिखेलमा खुलेको थियो ।