पनौती/नेपाल स्वास्थ्य प्राविधिक संघले आफ्नो ४६ औं स्थापना दिवस पनौती नगरपालिका वडा नम्वर ७ त्रिवेणीघाट नजिक रहेको प्राणनाथ माईती बृद्धाश्रममा स्वास्थ्य उपचार शिविर तथा खाद्यान्न वितरण गरेर मनाएको छ ।
नेपाल स्वास्थ्य प्राविधिक संघ काभ्रे जिल्ला कमिटीको समन्वयमा नेपाल स्वास्थ्य प्राविधिक संघ केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा ३५ जना जेष्ठ नागरिक तथा ७ जना बालबालिका सहित ४२ जनाको स्वास्थ्य परिक्षण गरिनुका साथै औषधी वितरण एवं चामल, आँटा, नुन लगायतका खाद्यान्न तथा साबुन र आवश्यकता बमोजिम औषधी वितरण गरिएको थियो । नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष शोभा गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संविधान सभा सदस्य रामहरी सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कमला थापा वाग्ले, माहासचिव श्याम वली, उपमहासचिव गोमा घिमिरे, केन्द्रीय सचिवालय सदस्य पार्थमणी न्यौपाने तथा राजदाश काफ्लेको उपस्थिति रहेको थियो ।
नेपाल स्वास्थ्य प्राविधिक संघ काभ्रेका अध्यक्ष सन्दीप केसीले संचालन गर्नु भएको उक्त कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्दीय सचिवालय सदस्य सरोज थापा, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ काभ्रेका जिल्ला अध्यक्ष पुरुषोत्तम तिमल्सिना समेतको सहभागिता रहेको थियो । जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण कार्यमा नेपाल स्वास्थ्य प्राविधिक संघ काभ्रेका उपाध्यक्ष विनोद कुईकेल, कोषाध्यक्ष झलक दर्लामी, सचिव कृष्णबहादुर आले लगायत स्वास्थ्यकर्मीहरु विजय मगर, सुर्य बहादुर श्रेष्ठ, हेमा संग्रौला, जानुका अधिकारी लगायतका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । नेपाल स्वास्थ्य प्राविधिक संघ राजनैतिक सवै राजनैतिक विचारधाराका स्वास्थ्यकर्मीहरुको साझा मञ्चको रुपमा कार्य गर्ने पेशागत संगठनको रुपमा रहेको केन्द्रीय उपाध्यक्ष कमला थापा वाग्लेले जानकारी दिनु भयो । प्राणनाथ माईती बृद्धाश्रमको बस्तुस्थिति बारे बृद्धाश्रम सञ्चालन गरिरहेका हरीप्रशाद काफ्लेले जानकारी दिनु भएको थियो ।
अनाथहरुको साथमा स्वास्थ्यकर्मीको भावनात्मक सम्बन्ध कायम गर्दै गरिएको उक्त कार्यक्रममा भावनात्मक सम्वन्ध बारे चर्चा गर्दै नेपाल स्वास्थ्य प्राविधिक संघ काभ्रेले विगत बर्षहरुमा पनि बनेपामा रहेको बौद्ध बृद्धाश्रम तथा धुलिखेलको मानव समाज सेवा घर एवं धुलिखेल ३ अवस्थित अनाथ बालगृहमा रहेका बालबालिकाहरुसंग सहयोग तथा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र उक्त कार्यलाई यस वर्ष पनि निरन्तरता दिईएको नेपाल स्वास्थ्य प्राविधिक संघ काभ्रेका अध्यक्ष सन्दीप के.सी.ले बताएका छन् ।





