धुलिखेल/आयुर्वेद तथा बैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोकले जिल्लामा रहेको प्रादेशिक संचालनरत होमस्टे तथा होटल रिसोर्ट संचालकहरुका लागि योग तथा पुर्वकर्म सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । मंगलबार धुलिखेलमा आयोजित कार्यक्रममा जिल्लाका ६० जना संचालकहरु सहभागि थिए ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमको प्रमुख आतिथ्यता तथा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोककी प्रमुख डा.वशंवदा कौडिन्न्यायनीको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समन्वय समिति प्रमुख दिपकुमार गौतमले स्वास्थ्यलाई ध्यान दिदै स्वस्थ र गुणस्तरीय सेवामा ध्यान दिन संचालकहरुलाई अनुरोध गरे । ‘पाहुनाहरुलाई कुनै न कुनै रुपले खुशी दिन, खुशीसँगै आनन्दको अनुभुती गराउन योग र पुर्वकर्मका अभ्यासहरु महत्वपूर्ण छन्’–समन्वय समिति काभ्रेका प्रमुख गौतमले भने–‘हरेक होमस्टे तथा होटलहरुमा योग गर्ने र सिकाउने शिक्षक अनिवार्य राख्नु आवश्यक छ ।’
आयुर्वेद तथा बैकल्पिक चिकित्सालय प्रमुख डा.वशंवदा कौडिन्न्यायनीले काभ्रेपलाञ्चोक जिल्ला राजधानीसँग नजिक भएको, हावापानी तथा सुविधाका हिसावले समेत पर्यटकिय क्षेत्र भएकाले त्यसको स्तरोन्नतीका लागि हरेक होमस्टे तथा होटलहरुमा योग र पञ्चकर्मका सुविधाहरु उपलब्ध गराउनु पहिले संचालक आफै त्यस प्रति सचेत हुनु पर्ने बताईन् । त्यसकै लागि होमस्टे र होटल रिसोर्ट संचालकहरुका लागि योग तथा पञ्चकर्मसँग सम्वन्धित विषयमा अभिमुखिकरण आयोजना गरिएको उनले बताईन् । योग प्रशिक्षक डा.महेश्वर भट्टले सहभागि संचालकहरुका लागि योग, पंचकर्म तथा त्यसका अभ्यास र प्रकृयाका बारेमा जानकारी गराएका थिए ।
हरेक होमस्टे तथा होटल रिसोर्टहरुमा विहान र साँझको समयमा पाहुनाहरुको सहजताका लागि योग आवश्यक रहेको सहभागिहरुले बताए । कार्यक्रममा आयुर्वेदसँग सम्वन्धित विभिन्न तहका ब्यक्तिहरु, होमस्टे ब्यवसायी महासंघ बागमती प्रदेशका अध्यक्ष विनोद हुमागाई, द्धारिकाज होटलमा कार्यरत योग शिक्षक डा. सञ्जु मजाकोटी लगायतको सहभागिता रहेको थियो ।





