धुलिखेल/२०७९ असार महिनामा बनेपा नगरपालिका वडा नम्वर ५ साविक बनेपा १ मा पर्ने खोला किनारको जमिन देखाउँदै ७६ कित्ताको प्लट बनाएर नक्कली कागजात तयार गरी ठगि गर्ने गिरोहमा संलग्न मालपोत कार्यालय काभ्रेका कर्मचारी, लेखापढी तथा कानून ब्यवसायी र गिरोहमा संलग्न ब्यक्तिहरुले कसुर ठहर पछि शुक्रबार सजायँ निर्धारण भएको छ ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकलेले मालपोत कार्यालय काभ्रेपलाञ्चोकका कर्मचारीद्धय शशित भण्डारी र रामविनय यादवलाई एक वर्ष कैद, १० हजार जरिवना र ४ सय क्षतिपूर्ति तिर्नु पर्ने ठहर गरेको छ । जिल्ला न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले लेखापढी ब्यवसायी राजन थापा र सिताकुमारी थापालाई २ वर्ष कैद, २० हजार जरिवना र ८ सय क्षतिपुर्ति निर्धारण गरेको हो । त्यस्तै ठगि गर्ने गिरोहका मुख्य नाईके रविप्रसाद रेग्मीलाई १० वर्ष कैद विगो बराबरको क्षतिपूर्ति र जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत काभ्रेका अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिईन् । कर्मचारीद्वय भण्डारी र यादव अदालतले तोकेको सजाँय भुक्तान गरिसकेका कारण शुक्रबार नै छुटेका छन् । रेग्मिलाई सरकारी छाप तथा दस्तखत किर्ते अभियोगमा ६ वर्ष कैद, ६० हजार जरिवना, २ हजार ४ सय क्षतिपुर्ति तथा १ करोड ७३ लाख २९ हजार ३ सय ७५ रुपैया विगो भराउने फैसला गरेको छ । त्यस्तै ठगी अभियोगमा ४ वर्ष कैद, ४० हजार जरिवाना, १६ हजार क्षतिपूर्ति र ५४ लाख विगोको फैसला भएको छ । करिब दुई वर्ष पछि मुद्दाको अन्तिम फैसला गर्दै जिल्ला अदालत काभ्रेपलाञ्चोकले ठगी गर्ने गिरोहमा संलग्न भएका मध्ये मालपोत कार्यालय काभ्रेका कर्मचारीद्वय सतिश भण्डारी र रामविनय यादव, लेखापढी ब्यवसायी सिता थापा र उनका श्रीमान् राजन थापा, जग्गा कारोवारी रविप्रसाद रेग्मि विरुद्ध दर्ता भएका सरकारी छाप तथा दस्तखत किर्ते र ठगी मध्ये रेग्मीलाई दुबै मुद्दामा कसुर ठहर गरेको थियो । कर्मचारीद्वय भण्डारी र यादवलाई ठगी मुद्दामा सफाई दिर्दै किर्तेमा मतियार रहेको कसुर ठहर गरेको थियो । लेखापढी तथा कानून ब्यवसायी थापाद्धयलाई किर्तेमा कसुर ठहर गरेको थियो । दुबैमा रेग्मिको मात्रै कसुर ठहर हुने फैसला जिल्ला न्यायाधीश विश्वनाथ भट्टराईको इजलाशले गरेको थियो । उनिहरु सबै पुर्पक्षका लागि कारागार चलान भएका थिए । उनिहरुले कसुर गरेको ठहर भएकाले कानून अनुसार ३ वर्ष भन्दा धेरै कैद तथा ३० हजार भन्दा धेरै जरिवना हुने अपराधमा अलग्गै सजाँय निर्धारण गर्नु पर्ने भएकाले असार ७ गते सजायँ निर्धारणको आदेश भएको थियो । सोहि अभियोगमा मुद्दा दायर भई धरौटीमा रिहा भएका इन्जिनियर निर्मल लामा र जग्गा कारोवारमा सहयोग गर्ने रामचन्द्र श्रेष्ठ, अर्जुनकुमार हुमागाईले सफाई पाउने ठहर भएको थियो । उनिहरु सबै सरकारी छाप तथा दस्तखत किर्ते र ठगी मुद्दामा अभियुक्त थिए । जग्गा कारोवारी रेग्मीविरुद्ध २०६८ असार १४ गते जिल्ला प्रहरी कार्यालय कास्की र २०६९ चैत १० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा ठगी मुद्दामा मुद्दा दर्ता भएको थियो ।





