2026 April 28/ 04:03: 59am

बनेपा/शिर मेमोरियल अस्पतालप्रति लगातार सामाजिक सञ्जाल तथा विभिन्न माध्यमको प्रयोग गरी बदनाम गर्ने प्रयत्न गरेको भन्दै बनेपामा रहेको शिर मेमोरियल अस्पतालले खण्डन गरेको छ । आफुलाई विद्धान बताउने तर कान नछामी कौवाको पछि दगुर्ने केहि ब्यक्ति तथा समुहले पटक पटक लाञ्छनायुक्त शब्दहरु प्रयोग गरी ब्यक्ति तथा संस्थालाई आक्षेप लगाउने कार्य निरन्तर गरिरहेको भन्दै अस्पतालले त्यसको प्रतिवाद गर्दै कानूनी उपचार खोज्ने जनाएको छ । 
    शुक्रबार अस्पतालले आफ्नै अफिसियल पेज मार्फत सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ – ‘यथार्थ कुराको जानकारी नै नलिई अनुमानका भरमा र पूर्वाग्राही भई यस अस्पतालको नाम जोडेर सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण कुराको भर नगर्न र यथार्थ कुराको जानकारी लिन हार्दिक अनुरोध गर्दछौं ।’ अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत डा.एन्जेला बस्नेतद्वारा जारी विज्ञप्तीमा भनिएको छ –‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सम्झौता बमोजिम २०७७ साल असोजसम्म र त्यस पछि उक्त मन्त्रालयको २०७६ बैशाख २७ गते समेतको निर्देशन बमोजिम मुलुकी देवानी संहिता, २०७४ बमोजिम सार्वजनिक गुठीको रुपमा दर्ता गरिएको शीर मेमोरियल मेडिकल एण्ड एजुकेशनल ट्रष्टअन्तरगत सञ्चालित शीर मेमोरियल एड्भेन्टिष्ट अस्पताल काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका साबिकको वडा नम्वर १ (हाल वडा नम्वर ५) मा सञ्चालन भएको ६४ वर्ष पूरा भइसकेको छ । यो अस्पताल सञ्चालनमा स्थानीय महानुभावहरुको सहयोग र सद्भाव सदा स्मरणीय छ । यो अस्पतालका सम्बन्धमा हाल केही दिनदेखि भ्रमपूर्ण कुराहरु सामाजिक सञ्जालमा आएको सन्दर्भमा हाम्रो ध्यानकषर्ण भएको छ ।’
    ‘सबै सरोकारवालाहरूको जानकारीका लागि शीर मेमोरियल एड्भेन्तिष्ट अस्पताललाई सार्वजनिक गुठी अन्तर्गत सञ्चालन गर्नुका साथै अन्य सामाजिक तथा कल्याणकारी कार्यक्रमहरू सञ्चालन गर्न र अस्पताललाई अझ व्यवस्थित र सुविधा सम्पन्न बनाई गुणस्तरीय सेवा प्रदान गर्ने समेत उद्देश्य भएको शीर मेमोरियल मेडिकल एण्ड एजुकेशनल ट्रष्ट नामको सांर्वजनिक गुठी मुलुकी देवानी संहिता, २०७४ बमोजिम दर्ता गरी सञ्चालन भइरहेको छ । शीर मेमोरियल एड्भेन्टिष्ट अस्पताललाई दर्ता गरी सञ्चालन गर्नु भनी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक– पटक निर्देशन दिएको र सोको पालना गर्नुपर्ने भएकोले नै शीर मेमोरियल मेडिकल एण्ड एजुकेशनल ट्रष्ट नामक सार्वजनिक गुठी प्रचिलित कानूनका अधीनमा रही दर्ता गरिएको हो । यस्तो गुठीको कानूनी व्यवस्था उक्त संहिताले गरेको र यसको सम्पत्ति कुनै पनि अवस्थामा कसैले निजी रुपमा प्रयोग गर्न सक्दैन । तत्काल अस्पतालको नाउँमा रहेको केही अचल सम्पत्ति र सम्पूर्ण चल सम्पति गुठीको नाउँमा हस्तान्तरण भइसकेको छ भने बाँकी अचल सम्पत्ति समेत गुठीको नाउँमा ल्याउन प्रकृया अगाडि बढाई सकिएको छ । यस गुठीको संस्थापन पत्रमा गैरकानूनी तवरले केरमेट गरिएको छैन । सम्बन्धित कार्यालयमा रहेको सक्कल संस्थापन पत्र वा विधानबाट यसको पुष्टि हुनेछ । गुठीको सम्पत्ति गुठी संस्थापक लगायत कोही कसैले लिन खान पाउदैन । गुठी दर्ता गरी गुठी अन्तर्गत अस्पताललाई सञ्चालन गर्नुपरेका कारण साविकको व्यवस्था स्वतः निष्क्रिय भएको हो । गुठीको संस्थापनपत्र २०७९ सालमै संशोधन गरी यस गुठीको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका साबिकको वडा नंम्वर १ (हाल वडा नंम्वर ५) मा कायम गरिएको छ । यो अस्पतालको स्थापना र संचलानका लागि आवश्यक पर्ने मेडिकल उपकरण तथा कर्मचारीहरुको शैक्षिक वृद्धि बिकासका लागि
    सेभेन्थ–डे एड्भेन्टिष्ट लगायत अन्य दातृ संस्थाहरुबाट नै भइरहेको वास्तविकतामा कानून बमोजिम यस गुठीका केही संस्थापक स्वदेशी तथा विदेशी व्यक्ति तथा संस्था पनि रहेका छन । स्थानीयवासी र स्थानीय जनप्रतिनिधि भनेका यस संस्थाका पथप्रदर्शक तथा मार्गनिर्देशक हुन । हामी उहाँहरुको सदासर्वदा स्वागत र सम्मान गर्दै अटुट सहयोगका लागि हार्दिक अपील गर्दछौ ं।’ अस्पतालले शुरुमा कम्पनी दर्ता गर्दा काठमाडौमा नै दर्ता गरेको र दोश्रो वर्षको साधारण सभाबाट स्थानान्तरण गरेको बताएको छ । सामाजिक सञ्जालमा आएका कम्पनीका उदेश्यमा केरमेट गरिएको विषयलाई समेत ध्यानाकर्षण भएको जनाउँदै सार्वजनिक गरिएका सबै तथ्यहरुमा आधिकारिकता नभएको बताएको छ । कम्पनीका सबै सदस्यहरुको हस्ताक्षर मेटेर, मालपोत कार्यालय लगायतका कार्यालयको छाप र कार्यालय प्रमुखको हस्ताक्षर समेत मेटरेर नक्कली खडा गरी भ्रम फैलाउन खोजिएको अस्पतालले बताएको छ ।