2026 April 28/ 04:03: 41am

    धुलिखेल/नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काभ्रेले प्रमुख जिल्ला अधिकारी सुर्य सेढाईलाई ज्ञापनपत्र बुझाउँदै विद्यालयहरुले विद्यार्थी बोक्ने बसमा बालबालिकाहरुलाई यातना हुने गरी खचाखच गराएको प्रति ध्यानकर्षण भएको जनाउँदै सहज र सरल रुपमा सिट संख्याका आधारमा मात्रै विद्यार्थी बोक्न विद्यालयहरुलाई निर्देशन दिन र त्यसको अनुगमन गर्न अनुरोध गरेको छ । 
    जिल्ला अध्यक्ष मिलनकुमार गौतमको नेतृत्वमा विद्यार्थीहरुको समुहले ज्ञापनपत्र बुझाउँदै जिल्लाका अधिकांश निजी तथा सामुदायिक विद्यालयका स्कुल बसहरुले क्षमता भन्दा दुई गुणा बढी विद्यार्थीहरु बोकेकाले सामान्यता एउटा बसमा ३५ जनाको लागि सिट हुने तर स्कुल बसहरुले ८० भन्दा धेरै विद्यार्थी बोक्ने गरेको दुखद परिस्थिति रहेको बताउँदै तत्कालै सुधार गर्न अनुरोध गरेको छ । 
    ट्राफिक प्रहरी सहितको अनुगमन टोलीलाई जिल्लाका सडकमा परिचालन गरि क्षमता भन्दा बढि विद्यार्थी बोक्ने सवारी साधन र विद्यालयलाई तुरुन्तै कारवाही गर्न एवम ४५ प्रतिशत छुट सुबिधा नदिएका यातायात व्यवसायीलाई नियमानुसार कार्वहिको दायारामा ल्याउन अनेरास्ववियु काभ्रेपलञ्चोक जिल्ला कमिटीले माग गरेको छ । अभिभावकहरुसँग प्रत्येक विद्यार्थीको मासिक रुपमा बस शुल्क उठाउने विद्यालयले विद्यार्थीहलाई भने त्यो अनुरुपको सेवा दिएको छैन । केहि स्कुल बसमा विद्यार्थीहरुलाई ढोकामा झुण्डाएर समेत बोक्ने गरेको विज्ञप्तीमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुर्य सेढाईले बालबालिकाहरु उठाएका संवेदनशिल विषयमा गम्भिर भएको बताउँदै तत्काल कार्यान्वयनका लागि निर्देशन दिने बताए ।