धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ ले वडा भित्र रहेका जेष्ठ नागरिक, पूर्ण अपाङ्गता भएका ब्यक्ति तथा वडामा विभिन्न क्षेत्रबाट विकास निर्माण लगायतका कार्यमा सहयोग पु¥याउने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ । वडा अध्यक्ष उत्तम तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो ।
वडा कार्यालय भित्रका १ सय ११ जना जेष्ठ नागरिकहरुलाई आधा माना घ्यू सहित फाईवर सिरक उपलब्ध गराईएको थियो । त्यस्तै पूर्ण अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि सम्मान गरिएको छ । उनिहरुलाई पनि घिउ र फाईवर सिरक उपलब्ध गराईएको वडा अध्यक्ष तिमल्सिनाले बताए । ‘हरेक वर्ष यस्ता कार्यक्रमहरुको आयोजना गरिने छ’–अध्यक्ष तिमल्सिनाले भने–‘समुदायमा रहेका विशेष ब्यक्तिहरुलाई हरेक वर्ष सम्मान गर्दै उनिहरुबाट प्रेरणा र अनुभव समाजका लागि लिईरहने छौ ।’ गत वर्ष देखि शुरु भएको सम्मान कार्यक्रम यो वर्ष पनि निरन्तर भएको र आगामी वर्ष तिर्थाटन सहितको सम्मान गरिने अध्यक्ष तिमल्सिनाले बताए । जेष्ठ नागरिक र क श्रेणीको परिचयपत्र पाउने पूर्ण अपाङ्गता भएका ब्यक्तिहरु बाहेक वडामा विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने वडा सचिव संगिता चौलागाई, स्वास्थ्य संस्था प्रमुख हेमा संग्रौला, विदुर बस्नेत, लक्ष्मण कर्माचार्य र जानुका थापा मगर, बुद्धि महत, रघुनाथ धिताल, छापगाउँ कुवा संरक्षण उपभोक्ता समिति, सत्यमान लामा बुखण्डोल बुद्ध पार्क, डा.दिलबहादुर तामाङ कान्छीमाया फाउण्डेशन, बैदेशिक रोजगारबाट फर्किएर उद्यम संचालन गर्ने राजु श्रेष्ठ, बाल क्लवकी रस्मिता तामाङ, महिला स्वास्थ्य स्वंयसेविकाहरु रमुना अधिकारी, सुनिता थापा र मना दाहाल सम्मानित भएका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले वडा कार्यालयले शुरुवात गरेको सम्मान कार्यक्रमको प्रशंशा गर्दै आगामी दिनमा छोरा बुहारी सम्मान कार्यक्रम राख्न सुझाव दिए । वडाले गरेका समग्र कार्यक्रमहरु प्रभावकारी, जनमुखी र नागरिकमैत्री भएकाले यस्ता कार्यक्रमहरुले थप उर्जा प्रदान हुने नगर प्रमुख ब्याञ्जुले बताए । कार्यक्रममा उपप्रमुख निराजन जंगमले वडामा रहेका जनप्रतिनिधीहरुले निभाएको भूमिकाको चर्चा गर्दै जनप्रतिनिधीहरुको एकता विकास निर्माण तथा वडाको विकास र प्रगतिका लागि सहज हुने बताए । वडा अध्यक्ष तिमल्सिनाले अघिल्लो ५ वर्ष वडा सदस्य भएर गरिएको कामको अनुभवले पछिल्ला दुई वर्ष नागरिकहरुका लागि धेरै योगदान गर्न सकिएको बताए । बाँकी अवधीमा नागरिकहरुका गुनासा आउन नदिने गरी कार्य गर्ने उनले बताए । कार्यक्रममा जेष्ठ नागरिकहरुको तर्फबाट माधव उपाध्याय, वडा सदस्य सजना परियार लगायतले वडा कार्यालयले गरेका कार्यहरुको प्रशंशा गरेका थिए । कार्यक्रम वडा सचिव संगिता चौलागाईले संचालन गरेकी थिईन् ।





