2026 April 28/ 04:25: 18am

    पनौती/पनौती नगरपालिका वडा नम्बर ४ मा आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि योजना छनौट तथा राय सुझाव संकलन गर्न सर्वपक्षीय भेला आयोजना गरिएको छ । वडा कार्यालयमा आयोजित भेलामा उप–प्रमुख गिता बञ्जारा, वडा अध्यक्ष दिपक दाहाल, कार्यपालिका सदस्य राधिका विश्वकर्मा, वडा सदस्य सविता थापा, कुमार बस्नेत, प्रकाश बञ्जारा लगायत वडावासीको उपस्थिती रहेको थियो ।
    वडावासीले व्यवस्थित सडक, ढल व्यवस्थापन, मठ मन्दिरको संरक्षण, सडक वत्ति लगायत पुर्वाधार विकाससँग सम्बन्धीत योजनाको माग गरेका छन । बालबालिकाहरु पनि योजनाको माग गर्न वडा कार्यालय पुगेका थिए । उनीहरुले बालबालिकाको क्षमता विकास, नेतृत्व विकास, बालमैत्री संरचना निर्माण, होटल पसल तथा व्यवसायको अनुगमनमा जोड दिने गरी योजना तय गर्न माग गरेका छन । वडावासीबाट प्राप्त योजनालाई प्राथमिकीकरण गरेर भोलिसम्ममा सुची तयार गरिसक्ने वडा अध्यक्ष दिपक दाहालले जानकारी दिए । दिगो विकासलाई केन्द्रमा राखेर योजना सञ्चालन गरिने उनले बताए । गाउँ टोलमा जनसहभागीतामा गर्न सकिने स–साना काममा पनि बजेट माग गर्ने प्रवृत्ति बढेको अध्यक्ष दाहालले बताए । सबैको सहभागीतामा गर्न सकिने काममा बजेट कम गर्दै ठुला योजनामा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाई छ । 
    समुदायले मर्मत गर्न सक्ने, समुदायले संरक्षण गर्न सक्ने, समुदायले नै बनाउन सक्ने विकासको मोडेलप्रति राष्ट्रिय ध्यान पुग्न नसकेको उनको गुनासो छ । पक्की र उच्च प्रविधिको प्रयोगले सीप र कला हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन । पुर्वाधार निर्माण, सडक वत्ति, शिक्षा, स्वास्थ्य, कला संस्कृति, पाटीपौवा मठ मन्दिर, जात्रा पर्वको संरक्षण, खानेपानी, ढल निकासको क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष दाहालले बताए । १ करोड ३० लाखको बजेट सिलिङभित्र रहेर योजना छनौट गर्नुपर्ने भन्दै उनले सबै क्षेत्रलाई समेट्ने गरी योजना तय गर्ने प्रयास भइरहेको बताए । सबेको सहभागीता र सहयोगमा मात्रै वडालाई समृद्ध बनाउन सकिने अध्यक्ष दाहालले बताएका छन । योजना छनौट तथा राय सुझाव संकलनका लागि आयोजित सर्वपक्षिय भेलाको सहजीकरण सचिव कृष्णकाजी श्रेष्ठ, बालमैत्री सहजकर्ता ललिता धिताल, वडा कर्मचारी सुरेन्द्र तामाङ, सरस्वती खड्का लगायतले गरेका थिए ।