बनेपा/२० औं विश्व रक्तदाता दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सहयोगमा र काभ्रे उपशाखाको समन्वयमा यो वर्ष रक्तदान बढी गर्ने ब्यक्ति तथा रक्तदान गराउने संस्थालाई सम्मान गरेको छ ।
यस आर्थिक बर्षमा रक्तदान आयोजना गर्ने संघ संस्था, सबैभन्दा बढी रगत संकलन गर्ने संस्था र सबैभन्दा धेरै महिला रक्तदाताबाट रक्तदान गराउने संस्था र आर्थिक बर्षमा बढी रक्तदान गर्नेलाई सम्मान गरिएको थियो । सबैभन्दा बढी रक्तदान गराउने नेपाल तरुण दल काभ्रेले एकै दिन १ सय २५ जनालाई रक्तदान गराएको जानकारी दिएको थियो । सम्मान कार्यक्रममा बनेपा नगरपालिकाकाका प्रमुख शान्तिरत्न शाक्य प्रमुख अतिथी थिए । शाक्यले यस्तो पवित्र कामलाई निरन्तरता दिन आग्रह गरेका थिए । कुनै पनि मानिस रगतको अभावमा मर्न नपरोस, नगरपालिकाले रक्तदान सम्बन्धी कस्तो सहयोग गर्न सक्छ सहयोग गर्न तयार रहेको शाक्यले बताए । रक्तदान गर्न सबै युवालाई जागरुक बनाउनु पर्ने शाक्यले बताए ।
कार्यक्रममा सामुदायिक साकोस, उग्रचण्डी साकोस, चण्डेश्वरी साकोस, विभिन्न संघसंस्था, नेरेसो उपशाखाहरुलाई सम्मान गरेको थियो भने सबैभन्दा बढी रक्तदान गर्ने ब्यक्ति नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापति रघुनाथ हुमागाईलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य काभ्रे रेडक्रस उपशाखाका सभापति राजकुमार हुमागाईले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सभापति स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपतीले गरेकी थिईन् । सम्मान कार्यक्रम पछि रक्तदानको समेत आयोजना गरेको थियो ।





