2026 April 28/ 04:02: 46am

बनेपा/सामुदायिक वन उपभोक्ता महासंघ नेपालको २९ औं स्थापना दिवस काभ्रेमा पनि मनाईएको छ । बागमती प्रदेश महासंघको आयोजना तथा जिल्ला महासंघको समन्वयमा वनको दिगो ब्यवस्थापनको सवालमा महासंघको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको हो । 
    बागमती प्रदेश महासंघका अध्यक्ष विनोद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा, सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय समिति कोषाध्यक्ष शान्ता न्यौपाने, केन्द्रिय सदस्य सरस्वती खड्का, डिभिजन वन कार्यालय काभ्रेका डिभिजनल बन अधिकृत केबी थापा, नेपाल बन पैदावार ब्यवसायी महासंघका केन्द्रिय महासचिव माधवमणी हुमागाई, बागमती प्रदेश अध्यक्ष रविन्द्र बैदार, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष बलराम घिमिरे लगायतले साुमदायिक वनको महत्व, भूमिका र चुनौतीका बारेमा धारणा राखेका थिए ।
    विश्वब्यापी देखिएको जलबायु परिवर्तनका संकटहरुको समाधानका लागि सामुदायिक वनहरुले खेल्ने भूमिका, विभिन्न क्षेत्रबाट शुरु भएको अतिक्रमण रोक्न, तीन तहका सरकारले बनाउने कानूनहरुमा सामुदायिक वन मैत्री बनाउन दबाब लगायतका विषयमा सरोकारवालाहरु बीच छलफल हुनु पर्ने सहभागिहरुले बताए । पछिल्ला समय सडक तथा अन्य पूर्वाधार निर्माणका नाममा वनहरु अतिक्रमण हुन थालेका छन् भने केहि ब्यवसायीहरुले जग्गा प्लटिङ्गका नाममा सामुदायिक वनहरु अतिक्रमण गर्न थालेका छन् । वनमा हुने आगजनी, त्यसले पारेका असर तथा खानेपानीका मुहानहरु सुक्ने, वन्यजन्तु ओसारपसार तथा संरक्षण हुन नसक्ने लगायतका चुनौतीहरुका साथै उपभोग गर्न मिल्ने अवस्थाका रुखहरु कटान हुन नसक्ने, कटान भएका रुखहरु विक्री नहुने जस्ता समस्याका बारेमा छलफल भएको थियो ।