धुलिखेल/साविक सिसाखानी गाविस ९ हालको रोशी गाउँपालिका ५ मा रहेको कित्ता नम्वर ९७९ को क्षेत्रफल ०–६–०–० जग्गामा रहेको ठुलो बुद्धचित्तको रुख हातहतियार सहितको जत्था लिएर कटान गर्न आदेश दिने र योजना बनाउने मुख्य योजनाकार महेश थारु पक्राउ परेका छन् । कमरेड महेश, कमरेड महाविर उपनाम भएका विश्वनाथ भनिने महेश चौधरीले विभिन्न स्थानमा चन्दा, विस्फोट लगायतका आतंक मच्चाउँदै आएका थिए ।
उनी राष्ट्रिय माध्यमिक विद्यालय शोसी भरपुर महानगरपालिका २५ चितवनका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत छन् । महेश चौधरी नेकपा माओवादी विप्लव हुँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट कार्वाही भए पछि नेकपा (माओवादी) का संयोजक रहेका छन् । उनकै नेतृत्वमा रोशीको रुख कटान गर्न सोहि पार्टीका केन्द्रिय सदस्य सागर मैनाली लगायतको सहभागिता रहेको अनुसन्धानबाट खुलेको छ । रुख कटान भएको भोलिपल्टै महेश चौधरीको पार्टीले विज्ञप्ती मार्फत जिम्मेवारी लिएको थियो । चौधरीलाई २०८१ जेठ ११ गते भरतपुरबाट प्रहरीले पक्राउ गरेको थियो । उनको नेतृत्वमा चितवन जिल्लाको स्मल हेभनको स्कुल बसमा आगजनी भएको अनुसनधान हुँदै गर्दा उनकै नेतृत्वमा काभ्रेको रोशीमा कटान गरिएको रुखको समेत उनले नै जिम्मा लिएका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बुधबार उनलाई धुलिखेल ल्याई बयान लिएर चितवन फर्काएको छ । कमरेड महेश, कमरेड महाविर उपनाम भएका विश्वनाथको समुहले २०२८ माघ २८ गते भरतपुरमा लघुवित्तका कर्मचारीलाई समेत धम्कि दिएर चन्दा माग गरेका थिए ।





