2026 April 28/ 04:03: 42am

    धुलिखेल/प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर सेढाईले काभ्रेपलाञ्चोक जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, नागरिकहरुलाई प्रदान गर्नु पर्ने सेवा लगायतका विषयमा जिल्लाका संचारकर्मीहरुसँग अन्र्तक्रिया गरेका छन् । सोमबार २०८१ जेठ २१ गते हाजिर भएका प्रमुख जिल्ला अधिकारी सेढाईले नागरिकमैत्री सेवा। शुसासन र शान्ति सुरक्षा तथा अपराध नियन्त्रण पहिलो प्राथमिकता रहेको बताए । 
    संचारकर्मीहरुले नयाँ तथा प्रतिलिपी नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघ संस्था दर्ता तथा नविकरण, मुद्दा, अन्य सिफारिसका लागि नागरिकहरुले भोगिरहेका समस्या र समाधानका लागि ब्वस्थापकिय पक्षलाई सुदृढ गर्न सुझाव दिएका थिए । जिल्ला प्रशासन कार्यालयको आफ्नै भवन निर्माणको कार्य सम्पन्न गर्न, लागु औषध तथा आत्महत्या न्युनिकरण गर्न, अपराध हुन नदिन तथा भएका अपराधमा अनुसन्धान गरी दोषिलाई कारवाही गर्न, विपद प्रतिकार्य योजना निर्माण तथा कार्यान्वयन, नागरिक मैत्री सेवालाई प्रभावकारी बनाउन सुझाव दिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौड्याल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले जिल्लाको बस्तु स्थितीका बारेमा जानकारी गराएका थिए । 
    विकास निर्माणमा सहजिकरण, नागरिकहरुले भोगिरहेका समस्या र तीन तहका सरकारसँगको समन्वय र सहकार्यलाई प्राथमिकतामा राखेर कार्य गर्न संचारकर्मीहरुले प्रजिअ सेढाईलाई सुझाव दिए । प्रजिअ सेढाईले आवश्यक समन्वय र सहकार्य गर्दै नागरिकहरुको सेवा प्राथमिकतामा राखेर कार्य गर्ने बताए ।