2026 April 28/ 02:34: 50am

पनौती/काभ्रे जिल्लाको प्राचीन नगर पनौतीमा अक्षरमार्ग काव्य गोष्ठी सम्पन्न भएको छ ।  साहित्यिक पत्रकारितामा ख्याति कमाएकोे अक्षरमार्ग साहित्यिक त्रैमासिक पत्रिकाले काव्यगोष्ठीको आयोजना गरेको हो ।
    काव्य गोष्ठीको उद्घाटन गर्दै कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ साहित्यकार प्रा डा.गोविन्दराज भट्टराईले अक्षर कर्ममा लागिरहेका अक्षरमार्गका सम्पादक कवि सूर्यप्रसाद लाकोजूको परिश्रमले साहित्यिक जगत फराकिलो बन्दै गएको उल्लेख गरे । उनले स्रष्टाहरुलाई साहित्य कर्ममा उत्साहित गर्नका लागि काभ्रेको पनौतीले योगदान पु¥याइरहेको जनाए । एक अर्को प्रसङ्गमा उनले नेपाली साहित्यलाई विश्वबजारमा पु¥याउनुपर्ने बताए । अर्का विशेष अतिथि पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले साहित्यको उन्नयनका लागि सबै लाग्नु पर्ने विचार कार्यक्रममा पोखे । साहित्यिक पत्रकारिताका साथै विभिन्न साहित्यिक क्रियाकलाप र स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार दिँदै आएको अक्षरमार्गको आंयोजनामा भएको सो काव्यगोष्ठीमा देशका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट आएका स्रष्टाहरुले आफ्नो सिर्जना वाचन गरेका थिए । उनीहरुले आफ्ना सिर्जना वाचनमार्फत् समाजको चित्रणका साथै विद्यमान विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गर्दै समृद्ध र सुन्दर भविष्यको कामना समेत गरेका थिए ।
    काव्यगोष्ठीमा स्रष्टाहरु हरिप्रसाद चौंलागाईं, मणिराज सिंह, कृष्णकुमार वैद्य, विश्व सिग्देल, रामसुन्दर देउजा, सुशिला बिष्ट, धु्रबकृष्ण ताम्राकार, डा. सिर्जना शर्मा, पूर्ण श्रेष्ठ, सोमकाजी शाक्य, भवानी खतिवडा, काशीराम विरस, जानुका खतिवडा, बुद्धिमान महर्जन, उपाशना बराल, जुमन किरण, अनिता कोइराला, दशरथ भट्टराई, निरा श्रेष्ठ, भगवती बस्नेत, अजय घिसिङ, सुरेश सैंजू, भवानी पाण्डे, विजयराम कर्माचार्य बिकुनारायण ताम्राकार, हरिसुन्दर छुकां, तुयुकाजी ताम्राकार, दिव्य गिरी, प्रकाश कायस्थ, ललिता अधिकारीलगायतले सिर्जना वाचन गरेका थिए । सोही अवसरमा लोकगायक मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले लोकगायन प्रस्तुत गरेका थिए भने गायक विनोद विकले देशधक्तिपूर्ण गायन प्रस्तुत गरेका थिए । सिर्जना वाचनको समापन सिस्नोपानी नेपालका अध्यक्ष तथा व्यङ्ग्यकवि लक्ष्मण गाम्नामेको कविताबाट भएको थियो । गोष्ठीमा सिर्जना वाचन गरेका स्रष्टाहरुलाई साहित्यकार प्रा डा गोविन्दराज भट्टराई, ज्ञानबहादर क्षेत्री, कवि लक्ष्मण गाम्नामेलगायतले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रमका अवसरमा भारत आसामबाट आएका वरिष्ठ साहित्यकार ज्ञानबहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो । सम्मानित क्षेत्रीले आसाममा नेपाली भाषी साहित्यको चर्चा गर्दै सम्मानप्रति आभार जनाए ।
    कार्यक्रममा प्रा. डा. अन्जना वस्ती, इन्द्रेश्वर क्याम्पसका प्रमुख श्रीकुमार सुवाललगायतले आफ्ना विचार पोखेका थिए । सो कार्यक्रममा अक्षरमार्गका सम्पादक तथा कवि लाकोजूले गोष्ठीमा नेपालका मात्र नभएर छिमेकी मुलुक भारतबाट समेत सर्जकको सहभागिताले उर्जा प्राप्त भएको बताए । अक्षरमार्गले हरेक वर्ष काव्यगोष्ठी गरिरहेको छ । सोही अवसरमा स्रष्टा सूर्य लाकोजूबाट लिखित ‘पनौतीका केही जात्रापर्वहरु’ को परिचर्चा समेत भएको छ । कार्यक्रममा साहित्यकार तुयकाजी ताम्राकारले पनौतीको महत्व र ऐतिहासिकता, पनौतीका मूर्त, अमूर्त सम्पदाबारे उक्त पुस्तकले महत्वपूर्ण जानकारी पस्केको विचार पोखे । उनले पनौतीलाई सांस्कृतिक नगरका रुपमा परिचित गराउने काममा उल्लेखनीय योगदान गरेको समेत बताए ।