2026 April 28/ 02:34: 11am

धुलिखेल/गणतन्त्र दिवसको अवसर पारी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जनस्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोमा सेवा दिन आएका सेवाग्राहिहरुका लागि एक दिने निशुल्क स्वास्थ्य परिक्षण गराएको छ । 
    मेथिन्कोट अस्पतालको प्राविधिक सहयोगमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले नसर्ने रोगको स्वास्थ्य परिक्षण तथा परामर्श सेवा उपलब्ध गराएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सेवाग्राहिहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै रोग लाग्न नदिन र त्यसका बारेमा परामर्श दिने प्रयत्न गरिएको बताईन् । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेल, जनस्वास्थ प्रमुख रागि श्री कक्षपति लगायतको सहभागिता रहेको थियो । शिविरमा रक्तचापको जाँच, रगतमा चिनीको मात्राको जाँच, पिसाबमा एलबुमिनको जाँच, शारीरिक तौल, उचाई र वि.एम.आई लगायतको परिक्षण गरिएको थियो । 
    जिल्ला स्तरीय गणतन्त्र दिवस समारोह समिति काभ्रेको आयोजना तथा बनेपा नगरपालिकाको सहयोगमा काभ्रे बहिरा माध्यमिक बिधालय र आदर्श बालबालिका केन्द्रलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । नगर प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई लगायतको सहभागिता रहेको थियो ।