पोखरा/रोटरी क्लब अफ धुलिखेल, रोटरी क्लब हार्वी वे सनराइज अष्ट्रेलिया, रिचफर नेपाल, अष्ट्रेलियाको सहयोग तथा रोटरी लेक साईड पोखराको समन्वयमा पोखरा महानगरपालिका वडा नं. २३ को श्री जनसिद्ध आधारभूत विद्यालय हप्र्रनमा ३ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
शिविरमा मुख स्वास्थ्य र सरसफाई, विभिन्न किसिमका दाँतको उपचारहरु गरिएको उक्त शिविरमा २ सय ८५ जना बालबालिका तथा स्थानिय समुदायका ज्येष्ठ नागरिक, प्रौढ महिला र वयष्क व्यक्तिहरुको उपचार गरिएको थियो । शिविरमा बालबालिकाहरुलाई दाँत माझ्ने तरिका, दाँत तथा मुखको सरसफाईबारे प्रशिक्षणका साथै पेष्ट र ब्रस पनि वितरण साथै किशोर किशोरी र स्थानिय महिलाहरुको लागि प्रजनन तथा महिला स्वास्थ्य बारे प्रशिक्षण दिइएको थियो । महिलाहरुको लागी पुन प्रयोग गर्न मिल्ने महिनावारीको लागि प्याड वितरण गरिएको थियो ।
धुलिखेल अस्पतालको दन्त विभागबाट डा. दिलिप प्रजापति, डा. प्रतिक मरहट्टा, डा. जितेन्द्र राम यादव, डा. लक्ष्मी पराजुली र डा. उषा घिमिरेले प्राविधिक सहयोग र बलराम तिमल्सिनाले लजिष्टिक सहयोग गरेका थिए । रोटरी क्लब अफ हार्वी–वे सनराइजका डा. निकोलस व्हाइट, कार्ला थोमस, लार्स वोल्सन, विट्रीक्स ओनरी, इमली व्हाइटले महिलाहरुको प्रजनन स्वास्थ्य बारे प्रशिक्षण दिएका थिए ।
रोटरी कलब हार्वी वे, रिचफर नेपालबाट श्री जन सिद्ध आधारभूत विद्यालयको भुकम्प प्रतिरोधी दुई वटा कक्षा कोठा निर्माण गरिएको छ । उक्त भवनको लागत रु ३२ लाख लागेको जनाएको छ । रोटरीबाट प्राप्त सहयोगको लागि वडा अध्यक्ष रामकाजी गुरुङ्ग, वडा सदस्य चेत बहादुर क्षेत्री, विद्यालय प्रधानाध्यापक लेख बहादुर क्षेत्रीले रोटरीलाई धन्यवाद ब्यक्त गरेका थिए । उक्त शिविर सामुदायिक परियोजनाको समन्वय रोटरी क्लब अफ धुलिखेलका परियोजना संयोजक अशोक श्रेष्ठले गरेका थिए । रोटरी क्लब धुलिखेलले विभिन्न सहयोगी संस्थाहरुसँग समन्वय गरि सामुदायिक विकासका कार्यक्रमहरु कार्यान्वयन गर्दै आईरहेको श्रेष्ठले बताए ।





