2026 April 28/ 02:34: 50am

धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । वडा अध्यक्ष उत्तम तिमल्सिनाले पूर्ण खोप सुनिश्चितता भएको वडा घोषणमा प्रतिवद्धता सहितको हस्ताक्षर गरेका थिए । वडामा २०८१ बैशाख १३ गतेसम्म घर धुरी सर्भेमा १५ महिनासम्मका ७१ बालबाकिलाहरु तथा १६ महिना देखि ५९ महिनासम्मका २ सय ९७ जना बालबालिकाहरुले सरकारले उपलब्ध गराउने सबै प्रकारका खोप सहज र सरल रुपमा प्राप्त गरिरहेका छन् । 
    वडा अध्यक्ष तिमल्सिनाले वडालाई पुर्ण खोप लगायत नागरिकहरुका हरेक स्वास्थ्यमा सहज हुने गरी स्वास्थ्य केन्द्र मार्फत सेवा प्रदान गरिरहेको बताए । विभिन्न प्रकारका शिविर तथा कार्यक्रमहरु मार्फत नागरिकलाई सहज सेवा प्रदान गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताउँदै वडा अध्यक्ष तिमल्सिनाले वडामा रहेका नागरिकहरुको स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर कार्य गरिरहेको बताए । कार्यक्रममा धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, अधिकृत सरोज थापा, स्वास्थ्य चौकी इन्चार्ज हेमा संग्रौला, वडा सदस्यहरुले वडाबासिहरुको हितका लागि स्वास्थ्यका कार्यक्रमहरु प्रभावकारी बनाउने गरी कार्य भईरहेको बताएका थिए । 
    उक्त वडाले निशुल्क सुरक्षित गर्भपतन सेवा पनि शुरु गरेको छ । चालु वर्षमा ११ जनाले उक्त सेवा लिएका छन् भने ३० जनाले सुत्केरी सेवा लिएका छन् । वडालाई क्षयरोग मुक्त बनाउने अभियानलाई तिब्र बनाईएको छ भने मधुमेह, उच्चरक्तचाप लगायतका रोग भएका नागरिकहरुलाई उपचार र औषधीमा सहज बनाउने प्रयत्न भईरहेको स्वास्थ्य चौकी इन्चार्ज हेमा संग्रौलाले बताईन् । धुलिखेल ४ धुलिखेलको पहिलो पूर्ण सुरक्षित खोप भएको वडा घोषणा भएको छ । क्रमशः सबै वडा पूर्ण खोप घोषणा पछि नगरलाई पूर्ण खोप घोषणा गर्ने अभियान रहेको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताए ।