बनेपा/स्थानीय युवतीहरुको लागि १५ दिने सौन्दर्यकला तालिम बनेपामा शुरु भएको छ । बनेपा नगरपालिका वडा नंम्बर ५ को आयोजनामा अल ब्युटी पार्लर ट्रेनिङ्ग सेन्टरको सहयोगमा उक्त तालिम वडा कार्यालय शुरु गरिएको हो । सीप सिकौं आत्मनिर्भर बनौं भन्ने नाराका साथ शुरु भएको तालिममा २० जना महिलाको सहभागिता रहेको छ ।
तालिममा स्किन केयर, जुरो बनाउने, सेल्फ मेकअप, पार्टी मेकअप लगायत बेहुली सिँगार्ने सम्मको सिप सिकाउने प्रशिक्षक लक्ष्मी श्रेष्ठले बताईन् । तालिमको उद्घाटन बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटा गरिन् । नगरपालिकाले विकास निमार्णसँगै मानवीय विकासमा काम गर्दै आएको उनले बताइन् । नगरपालिकाले सम्पूर्ण गृहणी महिलालाई उद्यमी महिला बनाउने उद्देश्यका साथ अगाडी बढिरहेको जानकारी दिँदै उपप्रमुख सापकोटाले यस्ता सीपमूलक तालिमले आर्थिक रुपले आत्मनिर्भर बनाउन टेवा पुग्ने बताईन् । महिलालाई स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको वडा अध्यक्ष बलराम अधिकारीले बताए । आफ्नो र आफ्नो परिवारको लागि मात्रै भए पनि सौन्दर्य कला सीप सिक्नु जरुरी भएको कार्यपालिका सदस्य समिता थापाले बताइन ।
कार्यक्रममा वडा सदस्य सागर मानन्धर, वडा सदस्य कृष्ण गोपाल वैद्य, वडा सदस्य बिमला अच्छामी तोलाङ्गे र वडा सचिव राजु खत्रीको सहभागिता रहेको थियो । उद्घाटन सत्रको कार्यक्रम सहायक सचिव कल्पना जोशीले संचालन गरेकी थिइन् ।





