2026 April 28/ 02:33: 47am

    पाँचखाल/नेपाल स्काउट पाँचखाल नगरपालिकाको आयोजनामा २०८१ जेठ १७ देखी १९ सम्म बागमती प्रदेश स्तरीय तेश्रो बृहत्त स्काउट क्याम्प हुने भएको छ । पाँचखाल नगरपालिकाको साझेदारीमा क्याम्प आयोजना गरिएको पाँचखाल स्काउट संयोजक नवराज बोलखेले जानकारी दिए । 
    क्याम्पमा प्रदेश भित्रका जिल्लाका ३ सय ५ आवासीय रुपमा रहने गरी विभिन्न विद्यालयबाट कक्षा ६ देखि १२ सम्मका विद्यार्थी तथा युवाहरु, स्काउटहरु र क्रु सदस्यहरुको सहभागिता रहनेछ । पाँचखाल नगरपालिका वडा नम्वर ४ मा रहेको दुग्धेश्वर माध्यमिक विद्यालय परिसरमा आयोजना हुने उक्त क्याम्पमा करिव ४ सय ५० जनाको सहभागिता रहनेछ । जेष्ठ १७ देखि १९ गतेसम्म हुने क्याम्पको पहिलो दिन उद्घाटन सहितका गतिविधीहरु हुनेछन् । तालिमका लागि प्रशिक्षणमुलक कार्यक्रमका साथै एडभेन्चर गतिविधी आयोजना गरिने उक्त क्याम्पको तयारी तिब्र पारिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । पाँचखालमा सर्वमंगला र पाँचखाल भ्यालीमा पहिलो र दोश्रो क्याम्प यस अघि आयोजना गरिएको थियो । नगरपालिका, बागमती प्रदेश स्काउट तथा विभिन्न क्षेत्रको सहयोग रहने उक्त कार्यक्रमका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपप्रमुख सुर्यमाया दनुवार, प्रवक्ता संजय तामाङ लगायत वडा अध्यक्षहरु, बागमती स्काउटका प्रमुख शिवकुमार त्वयना, महिला तालिम दल विभाग प्रमुख राजेश्वरी अमात्य, विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु, पुर्व स्काउट, क्रु सदस्यहरुको सहभागिता रहेको थियो ।