2026 April 28/ 02:33: 48am

    पनौती/पनौती नगरपालिका वडा नम्वर ७ को आयोजना तथा नव रत्न बाल समूह पनौतीको संयोजनमा नवरत्न अंग्रेजी माध्यमिक विद्यालयको सभा हलमा खुल्ला कोलाज प्रतियोगिता सम्पन्न भएको छ । 
    पनौती नगर पालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  वडा नम्वर ७ का अध्यक्ष सविन ताम्राकार, नवरत्न अंग्रेजी माध्यमिक विद्यालयका प्रशासक रामचन्द्र देउजा, जनप्रतिनिधिहरू रामसुन्दर भुजु, श्यामकुमार बस्नेत, सरू देउला, वडा बालमैत्री सहजकर्ता सुविना श्रेष्ठ, परिचित वडा बाल समूह सञ्जालका अध्यक्ष तवरेज आलम अन्सारी लगायतको सहभागिता रहेको थियो । नवरत्न बाल समूहका अध्यक्ष अभिनव बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रम बाल समूहका सचिव प्रविणा दाहालले संचालन गरेकी थिईन् । उपाध्यक्ष ईशान सैंजुको स्वागत मन्तब्य रहेको कार्यक्रममा विद्यालयका सह–प्रधानाध्यापक सृजन पसछेले कार्यक्रम माथी प्रकाश पारेका थिए । कक्षा ६–१० सम्मका ३० जना प्रतियोगि बालबालिकाहरुले कलाको माध्यमबाट हाम्रो वातावरण सम्बन्धी कागज, रंग, पात पतिंगर, तथा अन्य वातावरणीय बस्तुहरूको सहायताले मिक्स कोलाज तयार गरी प्रस्तुत गरेका थिए । 
     उत्कृष्ट प्रतियोगीहरूलाई प्रमाणपत्र, मेडल तथा अवार्ड प्रमुख अतिथि नगर प्रमुख भण्डारी लगायतका सहभागीहरुले वितरण गरेका थिए । प्रतियोगितामा सुनित धाँजु, सलिना परियार र रोजिना हुमागाईको समूह प्रथम भयो भने द्वितीय स्थान रितिका हुमागाँई, फुर साङमु शेर्पा र अनन्त तामाङ्गको समूह भयो । तृतीय स्थानमा सविन तामाङ्ग, ईशान सैंजु र राहिका मिन्नको समूह भयो । कार्यक्रममा निर्णायकको भूमिकामा विद्यालयका शिक्षक उपेन्द्र सुब्बा र शिक्षिका गौतमी तामाङ्ग थिए । विद्यालयका सह–प्रधानाध्यापक तथा बालमैत्री शिक्षक सृजन पसछेले आगामी दिनमा पनि विद्यालयले विविध अतिरिक्त कृयाकलाप गर्ने बताए ।