2026 April 28/ 02:15: 26am

    बनेपा/विकास निर्माणमा नागरिकहरुको आवश्यकता भन्दा पहुँच र शक्तिका आधारमा बजेट विनियोजन हुँदा स्थानीय सरकार ब्यक्तिका लागि मात्रै बनेका हुन् कि ? भन्ने प्रश्न उब्जन हुन थालेको छ । समता र समानुपातिक रुपले विकासका लागि बजेट विनियोजन गर्ने भन्दा पनि विकास भईरहेका स्थानमा थप बजेट विनियोजन गरी त्यहि विनाश गरी राज्यकोषको रकम स्वाहा पार्ने क्रम निरन्तर चलिरहेको छ । 
    बनेपा नगरपालिका वडा नम्वर ७ मा त्यस्तै भएको छ । घरहरु समेत धेरै नभएको, पक्कि संरचना रहेको, नागरिकहरुको आवश्यकता भन्दा पहुँचका आधारमा रकम विनियोजन गरी भएको निर्माणलाई भत्काउँदै नयाँ बनाउने भन्दै स्थानीय श्रोत र साधनको दुरुपयोग गरिएको छ । उपभोक्ता समिति गठनमा पनि नक्कली ब्यक्तिहरुको नामावली राखिएको छ । उपभोक्ता समितिहरुमा एकै परिवारका दुई जना सदस्यहरु राखिएको छ भने उपभोक्ता भन्दा बाहिरका अन्यत्र वडाका केहि सदस्यहरु राखिएको छ । भिंद्यो टोल सडक स्तरोन्नती आयोजनामा भएको मनलाग्दी विरुद्ध केहि स्थानीयले वडा कार्यालय, नगरपालिकामा ध्यानाकर्षण गराउँदा समेत स्थानीय सरकारले चासो नदिएको गुनासो गरेका छन् । बरु उल्टै नगर प्रमुख र वडा अध्यक्षको आदेश भन्दै भकाभक संरचना भत्काएर उपभोक्ता नै नभएका ठाउँमा उपभोक्ता छन् भन्ने कागजातका आधारमा मनलाग्दी खर्च गरिएको छ । उपभोक्ता समितिमा अध्यक्ष विज्ञान श्रेष्ठ छन् । आयोजनाको कुल लागत ६ लाख ३ हजार ५ सय रहेको छ । उपभोक्ताहरुमध्ये रामप्रसाद दाहालबाट २५ हजार, हुबेन्द्र चौंलागाईबाट ५६ हजार, राजन कायस्थबाट ५६ हजार र रामप्यारी बज्राचार्यबाट ३६ हजार रकम संकलन गरिएको छ । 
    नगरपालिकाले ५ लाख रकम दिएको छ । स्थानीय स्तरबाट १ लाख ३ हजार ५ सय ब्यहोर्ने सम्झौता गरिएको भएपनि अध्यक्ष विज्ञान श्रेष्ठ बाहेक नै १ लाख ७३ हजार रकम लिइसकेको छ । केहि सीमित घरका लागि मात्रै बजेट विनियोजन गरेको नगरपालिकाले ५० जना लाभान्वित हुने भन्दै आयोजना स्विकृत गरेको छ । २०८० पौष १७ गते आयोजनाको शुरु मिति राखेर २०८१ बैशाख दोश्रो साता कार्य शुरु गरेको उपभोक्ता समितिले २०८१ जेठ १५ गते कार्य सम्पन्नको मिति राखेको भए पनि सम्पन्न हुने मितिमा मात्रै कार्य प्रारम्भ गरेको छ । उपभोक्ता समितिमा भएका ब्यक्तिहरु, आयोजनाको पारदर्शिता, आवश्यकता र शक्तिको दम्भका बारेमा स्थानीयहरुले प्रश्न उठाएका छन् ।