बनेपा/काभ्रे होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरीङ संघले बनेपामा हुने चण्डेश्वरी जात्राको अवसरमा जेठ १० देखि १२ गतेसम्म रैथाने खाना महोत्सव गर्ने भएका छन् ।
बनेपामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक श्यमकुमार भालु (मुनाल) ले बनेपा जात्राको विशिष्टकृत तथा ऐतिहासिक र सांस्कृतिक धार्मिक पर्वको रुपमा मनाउन महोत्सव आयोजना गरिएको बताए । बनेपा जात्राको विशिष्टतालाई अझै चिनारी गराउन र जात्रामा आउने पाहुनाहरुलाई सोहि अवसरमा खाने भोजका परिकारहरुलाई महोत्सवमा प्रस्तुत गरिने संयोजक मुनालले बताए । महोत्सवमा ४५ वटासम्म स्टल रहनेछन् । सांस्कृतिक सद्भाव र एकताको भावना जागृत गराउन जात्रामा आउने पाहुना तथा अतिथी र सहभागिहरुलाई बनेपाको रैथाने नेवारी खाना भोजको परिचय गराउने तथा रैथाने खानाका परिकारहरुको प्रर्वद्धन गर्ने उदेश्यले उक्त महोत्सव आयोजना गरिएको होटल तथा रेष्टुरेन्ट ब्यवसायी महासंघका कृष्ण श्रेष्ठले बताए । कार्यक्रममा क्याटरीङ्ग संघका अध्यक्ष शिवप्रसाद तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, सचिव कपिल कोईराला लगायतले महोत्सव सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
जिल्ला भर फैलिएका होटल तथा रेस्टुरेन्ट र पार्टी प्यालेस ब्यवसायीहरुले खाना महोत्सव गरेको यो पाँचौ हो ।





