2026 April 28/ 02:13: 57am

पनौती/ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौतीले संस्थाका विभिन्न समिति, उपसमितिहरुको नेतृत्व विकासका लागि उद्घोषण तालिम आयोजना गरेको छ । पनौती–६ नमोवुद्ध रोड स्थित संस्थाको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न समिति, उपसमितिमा आवद्ध ३५ जनाको सहभागिता रहेको थियो ।
    उद्घोषण तालिममा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना र बागमती प्रदेश बचत तथा ऋण सहकारी संथा प्रोस्कुनका कार्यकारी अधिकृत केशव दाहालले प्रशिक्षण दिएका थिए । कार्यक्रमको उद्घाटन समारोहमा ज्योति साकोसका अध्यक्ष उद्धव सापकोटा, प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल, उपाध्यक्ष मैया थापा, सचिव बुद्धसिं थापा र कोषाध्यक्ष पुर्णराम तुलाधर लगायत संस्थाका पदाधिकारी र कर्मचारीको उपस्थिती रहेको थियो । कार्यक्रमको पहिलो दिन कार्यकारी अधिकृत दाहालले सहकारीका सवालसँग केन्द्रित रहेर उद्घोषण तालिम दिएका थिए । यस्तै दोस्रो र तेस्रो दिन पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले औपचारीक कार्यक्रम सञ्चालन, भाषण कला, मन्तव्य लगायतका विषयमा तालिम दिएका थिए ।
    कार्यक्रममा सहभागीहरुले छोटो समयको तालिम भए पनि धेरै सिकाई भएको प्रतिक्रिया दिएका छन । जीवनउपयोगी तालिम आयोजना गरिएकोमा उनीहरुले संस्था प्रती आभार व्यक्त गरे । संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले उद्घोषण तालिमले समिति उपसमितिमा सहकारीका सवाल प्रस्तुती र सरोकारको विषय सम्बोधनमा महत्वपुर्ण योगदान पुग्ने विश्वास भएको बताए । सबै क्षेत्रलाई समेट्ने गरी आगामी दिनमा थप कार्यक्रम ल्याउने पनि उनले प्रतिवद्धता जनाए । तालिममा सहभागीहरुलाई एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरिएको छ ।